Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

बल्खु बजार खोल्न माग


काठमाडौं ८ बैशाख । अत्याबश्यक बस्तुको सूचीमा रहेको तरकारीजन्य सामाग्रीको बिक्री वितरणमा रोक लगाएकोमा सम्बन्धित क्षेत्रका व्यवसायीहरुले विरोध जनाएका छन् । प्रशासनबाट तरकारी तथा खाद्यान्न पसलहरुको बिक्री वितरणमा कुनै अबरोध नपुग्ने भने पनि सुरक्षामा खटिएका सुरक्षाकर्मीद्वारा तरकारीका गाडी सञ्चालनमा रोक लगाएकोमा सो तत्काल खुला गर्न माग गरेका छन् । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११ स्थान निर्धारण गरेपनि सो निर्णयको जानकारी सम्बन्धित वर्गसम्ममा नपुगेको व्यवासायीहरुले बताएका छन् । स्थानीय निकायले कालिमाटी र बल्खुमा रहेको तरकारी बजार बन्द गरेर ११ स्थानबाट तरकारी निश्चित समय खुला गर्ने भनिएपनि सो व्यवहारीक नभएको बल्खु कृषि तथा तरकारी बजारका सञ्चालक मोहनकुमार बस्नेतले बताएका छन् । सञ्चालक बस्नेतले सरकारले भीडाभाड नहुनेगरी निर्बाधरुपमा तरकारी जन्य बस्तु बिक्री गर्न पाउनु पर्ने र खरिदकर्ताहरुले पनि सामाजिक दुरी कायम गरेर खरिद गर्न पाउने व्यवस्था मिलाएर कारोबार खुला गर्र्नुपर्ने बताएका छन् । बल्खु र कालीमाटी तरकारी बजारको भीडभाड हुन नदिन काठमाडौं महानगरपालिकाले सो बजार बन्द गरेपनि तोकिएको स्थानमा तरकारी बिक्री वितरण गर्ने स्टल भने नभएको उपभोक्ताहरुले बताएका छन । कलंकी, बाफल, स्वयम्भू, वनस्थली, गोङ्गबु, बसुन्धरा, गोपीकृष्ण हल, तीनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकबाट तरकारीको खरिद बिक्री गरिने व्यवस्था सरकारले मिलाएको थियो । लकडाउन अवधिभर वैकल्पिक तरकारी बजारका रुपमा सञ्चालनमा ल्याएको उक्त ११ स्थानबाट उपभोक्ताले आफूलाई अनुकूल पर्ने स्थानबाट फलफूल तथा तरकारी खरिद गर्न सक्ने व्यवस्था मिलाएपनि समय पर्यात नभएको र कति बजेदेखि खुला रहने समेत जानकारी उपभोक्ताले पाएका छैनन । तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरिएको सरकारी पक्षले जनाएको छ । तर तोकिएको अस्थायी ११ स्थानबाट भने कुन तवरबाट बिक्री वितरणको व्यवस्था मिलाएको छ भन्ने बारे सरकारी पक्षले केही खुलाएको छैन ।


क्याटेगोरी : अर्थ, जीवनशैली, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बल्खु बजार खोल्न माग

तपाईको कमेन्ट लेख्नुहोस्