नेपालमा कसरी भित्रियो कोरोना भाइरस, पुग्यो संक्रमितको संख्या १६

काठमाडौं २ बैशाख । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने २ जनामा पीसीआर परिक्षणमा पनि कोरोना पोजिटिभ देखिएको पुष्टी भएको छ । परिवारका २ जनामा आमा, छोरा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको हो । उनीहरुलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । यसअघि हिजो उनीहरुको घाँटीको र्यालको नमुना पिसीआर गर्नका लागि पाटन अस्पतालमा ल्याइएको थियो । सो परिवार गत चैत ५ गते लण्डनबाट काठमाडौं फर्किएको थियो । यो सँगै नेपालमा कोरोना संक्रममितको संख्या १६ पुगेको छ ।
सोमबार कैलाली र रौतहटमा थप एक एक जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको थियो । र्यापिड टेष्टमा नेगेटिभ देखिएकी कैलाली लम्कीचुहा नगरपालिका १ की ६५ बर्षिया बृद्धामा काठमाडौंस्थिति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परिक्षणले कोरोना पोजेटिभ देखाएको हो । वीरगन्जमा चिया पसल चलाउने ती महिला परिवार सहित लकडाउनअघि कैलाली आइपुगेको बताइएको छ । योसँगै कैलालीमा मात्रै कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यस्तै, क्वारेन्टाइनमा रहेका रौतहटका १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७६ माघ १० गतेदेखि अहिलेसम्म कहाँ कहाँ देखियो त कोरोना पोजेटिभ
२०७६ माघ १० गते चीनबाट नेपाल आएका एक विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भएसँगै कोरोनाको काउन डाउन सुरु भएको थियो । तर, उनी केही समयको उपचारपछि निको भएर घर फर्किए । पहिलो संक्रमण पुष्टि भएको एक महिना अर्थात फागुन १० गते फ्रान्सबाट दुबई हुँदै नेपाल आएकी एक १९ बर्षीया विद्यार्थीमा कोरोना पोजेटिभ देखियो । उनी अहिलेपनि टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छिन् । अर्को एक महिनापछि अर्थात चैत १२ गते धादिङका ३२ बर्षीया युवामा कोरोना पोजेटिभ देखियो । उनी कतारबाट केही समयअघि मात्रै नेपाल आएका थिए । यसपछि भने कोरोना संक्रमणले केही गति लियो । चैत १४ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रुघा खोकी र ज्वरोको लक्षण देखिएर उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखियो । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएर अझसम्म उपचाररत छन् । पाँचौ कोरोना संक्रमितको चैत १५ गते पहिचान भयो । बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी यी १९ बर्षीया युवती पनि अहिले उपचाररत छिन् । चैत २० गते काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँचका लागि आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीपनि चैत ४ गतेनै कतारबाट नेपाल आएका थिए ।
छैटौँ संक्रमित पहिचान हुँदासम्म नेपालमा बिदेशबाट आएका व्यक्तिमा मात्रै सिमित देखिएको कोरोना चैत २१ गते भने दोश्रो चरणमा पुगेको अवस्थामा पहिचान भयो । अर्थात दुबईबाट आएर कोरोना संक्रमणको पहिचान भएका धनगढीका युवककी, भाउजुमा कोरोना सरेको पाइयो । उनीसँगै एकैदिन भारतबाट फर्किएका लम्कीका एक पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका एक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । अहिले पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । शनिबार मात्रै पनि बीरगन्जको छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका तीन भारतीयमा कोरोना भाइरस (कोभिड– १९) पुष्टि भयो । फागुन पहिलो साता सप्तरीमा भएको एक धार्मिक सभामा सहभागी भएका उनीहरु पुसमा नयाँ दिल्ली–मोरङ सुनसरी, सप्तरी हुँदै पर्सा पुगेर विभिन्न मस्जिदमा बस्दै आएको खुलेपनि उनीहरुको संसर्गमा आएकाहरुलाई पहिचान गर्न नसक्दा संक्रमणको जोखिम बढ्दो क्रममा देखिएको छ । कोरोना परिक्षण सुस्त भएका कारण पछि माहामारीको रुप लिनसक्नेतर्फ सरकारलाई बिज्ञहरुले सचेत गराइरहँदा प्रादेशिक प्रयोगशालाबाट समेत परिक्षण सुरु भएपनि विश्वसनियता कम हुँदा आधिकारिक पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता कायमै छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पुग्यो संक्रमितको संख्या १७
तपाईको कमेन्ट लेख्नुहोस्