Techie IT
  • २१ मंसीर २०८१, शुक्रबार
KhojPatrika

हुलाकी राजमार्गमा ठेकेदारको लापरवाही, कालोपत्रे गरेको सडकको यो हालत


बारा ७ साउन । हुलाकी सडक आयोजना अन्तर्गत बाराको महागढीमाई नगरपालिकाको थलही पुल क्षेत्रमा निर्माण गरिएको सडक एक महिना नपुग्दै भत्किएपछि समग्र आयोजनाको सडकको गुणस्तरमै प्रश्न उठ्न थालेको छ । रामन लोकबिर कन्ट्रक्सनले निर्माण गरिरहेको यो सडक भासिएको मात्रै छैन कालोपत्रे समेत उक्किएर खण्डहर बन्न थालेको छ । बाराको बरियारपुर देखि पर्साको अरुवा रोड सम्म १८ करोड ९५ लाख ८० हजार रुपैयाको ठेक्का २०७२ माघ १७ गते सम्झौता गरिएको थियो । सम्झौताको समयसिमा गत जेठ २७ गते नै सकिएपनि समयमै आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको निर्माण पक्षले म्याद थपको प्रक्रिया अघि बढाएको छ । हुलाकी राजमार्ग अन्तर्गको यो खण्डको सडक निर्माणले स्थानीय जनप्रतिनिधिलाई समेत सन्तुष्ट बनाउन सकेको छैन । ठेकेदार पक्षले गुणस्तरहिन काम गर्दा समेत आयोजनाले नदेखेजस्तो गरेर राष्ट्रिय गौरभको आयोजनामाथी खेलबाड गरिरहेको स्थानीय जाहीर अंसारीले बताए । हुन त, ठेकेदार पक्षसँगै आयोजना समेतले सडक भासिनु र कालो पत्रै उक्किनुको दोस थलही पुल निर्माण गर्ने कम्पनीमाथी लगाइरहेका छन् । गुणस्तरहिन काम गर्ने निर्माण कम्पनीमाथी कारबाही गर्ने अधिकार पाएको योजना कार्यालय बीरगञ्ज मापदण्ड र गुणस्तर लत्याएर काम गर्ने निर्माण पक्षलाई आखिर किन कारबाही गर्न चाहिरहेको छैन ? यसले पनि सडक र पुलमा गुणस्तर हिन काम गराउन आयोजना आफैले सघाइरहेको प्रष्ट हुन्छ । पुल बनाउने ठेकेदारको कमजोरीले होस वा सडक निर्माणमा भएको बद्मासीले निर्माणको एक महिनामै सडक भासिनु र कालोपत्रे समेत उक्किनु गम्भिर लापरबाही हो । मापदण्ड र गुणस्तरमा बेवास्ता गरेर राष्ट्रिय गौरभको आयोजना प्रभावित बनाउने जो कोही भएपनि कारबाही गरिनुपर्ने माग स्थानीले राख्दै आएका छन् । झापाको मेची पुलबाट महेन्द्रनगरको चाँदनी दोधारासम्म महेन्द्र राजमार्गको २० देखि ३० किलोमिटर भित्र मधेशका बस्तीबाट जाने ९ सय ७५ किलोमिटर लामो हुलाकी सडकमा नेपाल–भारत सरकारको संयुक्त लगानी फसेको छ । राणा प्रधानमन्त्री पद्यमशमशेरले राजमार्गका रुपमा अघि सारेको आयोजनाको निर्माण २०६५ सालबाट सुरु भएपनि सडक निर्माणको गति निक्कै सुस्त छ । सरकारले हुलाकी सडकको पूर्वाधारमा मात्रै ५५ अर्ब रुपैयाँ र त्यसमा निर्माण हुने एक सय ५० वटा पुलका लागि १० अर्ब रुपैयाँ गरी कुल ६५ अर्ब रुपैयाँको लागत अनुमान गरेको छ । ३२ वटा सडक सञ्जाल खोल्नुपर्ने भएपनि पहिलो चरणमा १६ वटाको प्रक्रिया अगाडि बढेको छ । पूर्वपश्चिम नौ सय ७५ किमि र सम्बन्धित जिल्लालाई महेन्द्र राजमार्ग तथा भारतीय सीमासम्म जोड्ने थप आठ सय १७ किमिको उत्तर–दक्षिण जोड्ने यो राजमार्गलाई २०६९ जेठमा राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएपनि निर्माण पक्ष र स्वयम आयोजनाबाटै हुँदै आएको बद्मासीमाथी सरकारले नियमन गर्न सकिरहेको छैन । जसका कारण सडक र पुल निर्माण सुस्त भैरहेको छ भने बनाइएको संरचना पनि गुणस्तरहिन पाइएको छ । चिराचिरा बनेको र कालोपत्रे समेत उक्किएको यो सडक खण्ड  देशको आधा जनसंख्यालाई सडकको सहज पँहुच दिलाउने राष्ट्रिय गौरभको आयोजना हो । निर्माणको गती निक्कै सुस्त देखिएको यो आयोजना अन्तर्गतका विभिन्न सडक खण्डहरु यसरी फुट्न र छोटो समयमै कालोपत्रे उक्किन थालेका छन् । मधेशको आर्थिक र सामाजिक अवस्था परिवर्तन गराउने आयोजनाका रुपमा प्रचार गरिएको हुलाकी राजमार्गमा भैरहेको बजेटमाथीको दुरुपयोग रोक्न सरकार गम्भिर बन्नैपर्छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hulaki rajmarga

तपाईको कमेन्ट लेख्नुहोस्