Techie IT
  • ९ माघ २०८१, बुधबार
KhojPatrika

किन ब्रत बसिन्छ साउने सोमबार, पाशुपत लगायत शिव मन्दिरमा घुइँचो


काठमाडौं ६ साउन । साउन महिना महादेव शंकरको महिना मानिन्छ । पौराणिक कथाअनुसार सतीदेवीले आफ्नो बाबु दक्षप्रजापतिको घरमा आफ्नो योगशक्तिले देह त्याग गर्नु पूर्व सतीले भगवान् शिवलाई हरजन्ममा पतिका रूपमा पाउने संकल्प गरेको हुनाले देवी सतीले दोस्रो जन्ममा हिमालय पर्वतमा रानी मेनकाको गर्भबाट पार्वतीका रूपमा जन्म लिएकी सनातन धर्मको पौराणिक मान्यता छ । देवी पार्वतीले बाल्य अवस्थादेखि नै यसै साउन महिनामा निराहार रहेर कठोर तपस्या गरेर आसुतोष भगवान् शंकरलाई खुसी पारी विवाह गरी पुर्नमिलन भएको किबंदन्ती छ । शिव शंकरलाई यो महिना अविस्मरणीय भई प्रिय हुन गएको बताइन्छ । जसले यस साउन महिनामा शिवजीको पूजा आराधना तथा अभिषेक गर्दछ र उसले भगवान् शंकरबाट मनोवाञ्छित फल प्राप्त गर्दछन् भन्ने जनबिश्वास छ । शिवजीको पूजा आराधना गर्न सोमबारको दिन पुराणहरूमा निर्धारण गरिएको छ । तर, पौराणिक मान्यतामा शंकरको पूजा आराधनाका लागि सर्वश्रेष्ठ दिन महाशिवरात्रि, त्यसपछि साउन महिनाका सोमबार र अनि मात्र हरेक महिनामा आउने सोमबार मानिन्छ । यसै मान्यता अनुसार श्रद्धालु भक्तजनहरू यस महिना खास गरेर सोमबारको व्रत ९उपवास तथा पूजा आराधना एवं रुद्राभिषेक, कवच पाठ, जप आदि गरी शिवजीको उपासना गर्दछन् । मांसाहारी भक्तजनले साउनभर माछा मासु खादैनन् । साउन महिनामा नीलकण्ठ भगवान्लाई जलाभिषेक तथा रुद्राभिषेकको ठूलो महìव रहेको पाइन्छ । वेद मन्त्र उच्चारणको साथमा शंकर भगवान्लाई जल अर्पित गर्नु साधकको आध्यात्मिक जीवनका लागि महाऔषधिको रूपमा प्रभाव पर्छ । जलमा विष्णु भगवान्को बास हुन्छ । जललाई “नार“ पनि भनिन्छ । जल याने नारमा बास गर्नु हुने भगवान् भएकाले विष्णुलाई नारायण भनिएको कथन पाइन्छ ।

२०७६ सालको पहिलो सोमबार रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको छ । विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्ने परम्परा रहि आएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #saune sombar

तपाईको कमेन्ट लेख्नुहोस्