साढे दुई लाख कार्यकर्ता खोज्दै गगन, मंसिरभर घरदैलो अभियानमा जाने
काठमाडौं । नेपाली कांग्रेसले पार्टीसँग टाढिएका मतदाता र कार्यकर्तालाई पुनः जोड्न मंसिर महिनाभर देशभरका वडा र टोलमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पछिल्ला निर्वाचनमा कांग्रेसलाई मत नदिएका करिब दुई लाखभन्दा बढी परम्परागत कांग्रेसी मतदाता र उनीहरूका परिवारसँग संवाद गरेर पार्टीप्रतिको असन्तुष्टिको कारण खोज्नुपर्ने सभापति गगनकुमार थापाले नयाँ प्रस्ताव अघि सारेका हुन । कांग्रेसमा अहिले २० वर्षदेखि ८० वर्षसम्मका चार पुस्ता एकैसाथ क्रियाशील रहेको उल्लेख गर्दै थापाले यसलाई पार्टीको अलौकिक पुँजी भएको बताएका छन् । २०७९ को निर्वाचनमा २७ लाख १५ हजार २ सय २५ समानुपातिक मत पाएको कांग्रेसले २०८२ को निर्वाचनमा १७ लाख ५९ हजार १७२ मत मात्र प्राप्त ग¥यो ।
अर्थात्, अघिल्लो निर्वाचनको तुलनामा कांग्रेसको समानुपातिक मत नौ लाख ५६ हजार ५३ ले घटेको छ । साढे ९ लाख मत गुमाएको कांग्रेसले दुई लाख भन्दा बढी मतदाता परम्परागत कांग्रेसी नै भएको दाबी गरेको छ । यो मतपरिवर्तनले कांग्रेसको जनाधारबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँछ । तर, मतदाता फर्काउने अभियान अघि सारिरहेका सभापपित थापाका लागि पार्टीभित्रै एकता कायम गर्नु पनि चुनौतीपूर्ण देखिन्छ ।
मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट उत्पन्न तिक्तता अन्त्य गर्नुपर्ने बताए । जित्नेले सबै पाउने र पराजित हुनेहरू पार्टीबाट किनारा लाग्ने प्रवृत्तिले संगठन कमजोर बनाउने उनको भनाइ छ । प्रतिस्पर्धामा पछि परेका योग्य नेता तथा कार्यकर्तालाई समेत समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्र सबैले अवसर र स्थान पाउनुपर्ने बताए । यसले कांग्रेसभित्र गुटगत प्रतिस्पर्धा घटाउने र संगठनलाई साझा उद्देश्यमा केन्द्रित गर्ने उनको चाहना देखाउँछ । पछिल्ला निर्वाचनमा कांग्रेसको मत घट्नु केवल संख्याको विषय होइन । मतदाताले पार्टीप्रति किन असन्तुष्टि जनाए, किन अन्य दल रोजे र परम्परागत समर्थक किन टाढिए भन्ने प्रश्नको जवाफ खोज्न आवश्यक छ ।
थापाले प्रस्ताव गरेको संवाद अभियानले मतदाताका गुनासा सुन्ने अवसर दिन सक्छ । तर, संवादबाट प्राप्त सुझावलाई पार्टीको नीति, नेतृत्वको कार्यशैली र जनताप्रतिको जवाफदेहितामा सुधार गर्न नसके अभियानको प्रभाव सीमित हुन सक्छ । दुई लाखभन्दा बढी मतदाता र परिवारसँग संवाद गर्ने प्रस्तावलाई कांग्रेसले कसरी कार्यान्वयन गर्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुनेछ । अर्कोतर्फ, कांग्रेसभित्रको राजनीतिक समीकरणले पनि थापाको अभियानलाई प्रभावित गर्न सक्छ ।
शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र शेखर कोइरालालगायत नेताहरूका फरक प्राथमिकताबीच पार्टीको संगठनात्मक दिशा र नेतृत्व व्यवस्थापनमा सहमति जुटाउनुपर्ने देखिन्छ । देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेका बेला मतदाता संवाद अभियान र महाधिवेशनको राजनीतिक प्रतिस्पर्धालाई कसरी सन्तुलित गरिन्छ भन्ने प्रश्न उठेको छ । थापाले नेताहरूको तडकभडकपूर्ण शैली अन्त्य गर्न पनि आग्रह गरेका छन् ।
खादा, माला र गाडीको लस्करसहित हुने स्वागतले जनतामा वितृष्णा बढाउने भन्दै उनले नेताहरू सर्वसाधारणसँग सहजै भेटिने र उनीहरूका कुरा सुन्न सक्ने हुनुपर्ने बताएका छन् । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई संयोजन गर्दै स्थानीय तहका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप अन्त्य गर्ने उनको प्रतिबद्धताले पार्टीको कार्यशैली बदल्ने प्रयासलाई पनि संकेत गर्छ ।
गगन थापाको प्रस्ताव मतदाता खोज्ने अभियानमा मात्र सीमित रहन्छ वा पार्टीको राजनीतिक संस्कार र कार्यशैली परिवर्तन गर्ने योजनामा रूपान्तरण हुन्छ भन्ने कुरा त्यसको कार्यान्वयनले निर्धारण गर्नेछ । गुमेको मतको कारण पहिचान गर्ने, असन्तुष्ट कार्यकर्तालाई समेट्ने र जनताका समस्यामा परिणाममुखी काम गर्ने प्रयाससँगै नेतृत्वबीच सहकार्य कायम गर्न सके मात्र कांग्रेसको पुनर्गठन अभियानले सार्थकता पाउनेछ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १साढे दुई लाख कार्यकर्ता खोज्दै गगन, मंसिरभर घरदैलो अभियानमा जाने
- २कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- ३गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ४रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ५चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा



तपाईको कमेन्ट लेख्नुहोस्