बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि रिक्त रहेको उद्योगमन्त्री पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक साह नियुक्त हुने भएका छन् । उद्योग क्षेत्रमा देखिएको पछिल्लो समस्या, विशेषगरी ग्यास अभावका कारण सरकारमाथि बढेको दबाबबीच साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । नवनियुक्त हुन लागेका साह पेशाले मेकानिकल इन्जिनियर हुन् । उनको नामसँग मिल्ने अर्का रास्वपा सांसद यसअघि बालेन सरकारमा श्रममन्त्री बनेका थिए । तर, उद्योगमन्त्री बन्न लागेका साह ती व्यक्ति भने होइनन् ।
महोत्तरी–२ बाट निर्वाचित पूर्वश्रममन्त्री दीपक साह मेडिकल डाक्टर हुन् भने अहिले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका साह सुनसरी–४ बाट निर्वाचित मेकानिकल इन्जिनियर हुन् । साह गत आमनिर्वाचनमा सुनसरी–४ बाट रास्वपाका उम्मेदवार बनेका थिए । उनले नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई २६ हजार १८४ मतको फराकिलो अन्तरले पराजित गर्दै उल्लेखनीय जित हासिल गरेका थिए ।
साहले ४२ हजार ७७१ मत प्राप्त गर्दा कार्कीले १६ हजार १८४ मत पाएका थिए । साहको राजनीतिक यात्रा भने रास्वपाबाट मात्र सुरु भएको होइन । उनी यसअघि सिके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए । जनमत पार्टीबाट कारबाहीमा परेपछि उनले आफ्नै नेतृत्वमा सर्वोदय पार्टी गठन गरेका थिए । तर, आमनिर्वाचनअघि उनी रास्वपामा प्रवेश गरे र सुनसरी–४ बाट प्रतिनिधिसभा निर्वाचनका लागि टिकट प्राप्त गरेका थिए ।
शैक्षिक तथा व्यावसायिक रूपमा पनि साहको पृष्ठभूमि प्राविधिक क्षेत्रसँग जोडिएको छ । उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा बीई गरेका छन् । साथै प्राकृतिक स्रोत विकास विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् । साहसँग जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लामो कार्यअनुभव रहेको बताइएको छ ।
पूर्णकालीन राजनीतिमा सक्रिय हुनुअघि उनले करिब २३ वर्ष हाइड्रोपावर परियोजनामा काम गरेका थिए । उनले राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक परीक्षकका रूपमा समेत काम गरेको अनुभव छ । उद्योगमन्त्रीका रूपमा साहका अगाडि तत्कालीन रूपमा सबैभन्दा ठूलो चुनौती ग्यास अभाव समाधान गर्नु हुनेछ ।
बजारमा देखिएको ग्यास अभावकै कारण मन्त्रालयमाथि बढेको दबाबबीच यादवले राजीनामा दिएको अवस्थामा साहले आपूर्ति व्यवस्थापनलाई सहज बनाउँदै उद्योग तथा वाणिज्य क्षेत्रका समस्या समाधान गर्नुपर्नेछ । प्राविधिक तथा ऊर्जा क्षेत्रको आफ्नो अनुभवलाई मन्त्रालयको जिम्मेवारीमा कसरी उपयोग गर्छन् भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्