Techie IT
  • १७ भदौ २०८३, बुधबार
KhojPatrika

कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै १५ औं महाधिवेशनको कार्यतालिका ल्याएको छ । बुधबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकमा १५ औं केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने प्रस्ताव अगाडि सारिएको हो । उक्त बैठकमा नेता उमाकान्त चौधरीले महाधिवेशनको विस्तृत कार्यतालिका प्रस्तुत गरेका थिए ।

कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । यो प्रस्तावमाथि संस्थापन इतर पक्षका केन्द्रीय सदस्यहरूबीच छलफल भइरहेको छ र आवश्यक परिमार्जनसहित पारित गर्ने तयारी भइरहेको छ ।

कांग्रेसभित्र गत पुस महिनामा सम्पन्न विशेष महाधिवेशनपछि विभाजन छ । विशेष महाधिवेशनपछि पार्टी दुई धारमा बाँडिएको छ र आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । यस्तो अवस्थामा दुवै पक्ष छुट्टाछुट्टै महाधिवेशन गर्ने दिशामा अघि बढेका छन् । संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति निर्धारण गरी आन्तरिक तयारी थालेको बेला संस्थापन इतर पक्षले पनि आफ्नो छुट्टै कार्यतालिका सार्वजनिक गरेर प्रतिस्पर्धात्मक रूपमा अगाडि बढेको हो ।

यसले पार्टीभित्रको किचलो झनै बल्झिएको छ । संस्थापन इतर समूहले पुस १० गतेभित्र नवीकरण गरिएका क्रियाशील सदस्यतालाई पूर्ण मान्यता दिने निर्णय गरेको छ । नयाँ क्रियाशील सदस्यता भने वडाको सिफारिसका आधारमा वितरण गरी क्षेत्रीय समितिबाटै टुङ्गो लगाइनेछ । यसले सदस्यता नवीकरण र वितरणको प्रक्रियामा स्पष्टता ल्याउने उनीहरूको दाबी छ ।

अर्कोतिर संस्थापन पक्षले तय गरेको महाधिवेशन कार्यतालिका रोक्न संस्थापन इतर पक्षले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । तर अदालतबाट कुनै अन्तरिम आदेश नआएपछि उनीहरू आफ्नै कार्यतालिका लिएर अगाडि बढेका हुन् । अदालतमा विचाराधीन पुनरावलोकन मुद्दाको अन्तिम फैसलाले जसलाई मान्यता दिन्छ, त्यही नै आधिकारिक नेपाली कांग्रेस हुने अझै देउवा पक्षले बताइरहेको छ ।

अहिले दुईवटा कांग्रेसका दुईवटा महाधिवेशनको तयारी समानान्तर रूपमा चलिरहेको छ । एकातिर संस्थापन पक्षले आधिकारिक प्रक्रिया भन्दै असोजमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ भने अर्कातिर संस्थापन इतर पक्षले मंसिरमा आफ्नो १५ औं महाधिवेशन गर्ने घोषणा गरेर संगठन निर्माणमा जोड दिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं