Techie IT
  • २२ वैशाख २०८३, मंगलबार
KhojPatrika

बालेन सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तत् संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि जारी गरेका छन् । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै सरकारलाई फिर्ता पठाइदिएका थिए । सोही अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताको तस्तै जारी गर्न पुनः सिफारिस गरेको थियो । राष्ट्रपतिले मंगलबार भने सोही हुबहु आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।

जारी अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि ४ जना उपस्थित हुनुपर्छ । अध्यादेशको दफा ६ को उपदफा (४) मा संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा तीनजना सदस्यहरू गरी कम्तीमा चारजना उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या मानिने व्यवस्था छ । संवैधानिक परिषद्का अध्यक्ष र कम्तीमा तीन जना सदस्य उपस्थित भएको बैठकमा अध्यक्ष र दुईजना सदस्य गरी कम्तीमा तीन जनाको निर्णय परिषद्को निर्णय मानिने व्यवस्था अध्यादेशको दफा ६ को उपदफा (५) को स्पष्टीकरणको खण्ड (ग) मा छ ।

अध्यक्ष र पाँच जना सदस्य गरी परिषद्को पूर्ण (छ जना) उपस्थित हुँदा यो संख्या बिजोर नभई जोर भएकोले कुनै प्रस्ताव उपर निर्णय गर्दा मत बराबर अर्थात् तीन÷तीनको संख्या भएको खण्डमा परिषद्को अध्यक्ष सहमत भएको पक्षमा बहुमत भएको मानेर निर्णय गर्ने व्यवस्था अध्यादेशमा छ । संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने ६ सदस्यीय संवैधानिक परिषद् सर्वोच्च संवैधानिक निकाय हो । परिषदमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष रहन्छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विगतमा संसद्ले पारित गरेको विधेयक भन्दा फरक खालको भएको तर्क गर्दै यथावत् रुपमा जारी गर्न पत्र पठाएपछि राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको बताइएको छ । प्रधानमन्त्रीले पदमा बहाल रहेको तर बहाल भएको अवस्थामा पनि बैठकमा उपस्थित नभएको अवस्थामा चाहिँ बैठक बस्नका लागि गणपुरक संख्याको कति हुने भन्ने निर्धारण गरिएको जवाफ दिएका थिए । संवैधानिक परिषद्को सदस्य संख्या ६ जना अर्थात् जोर संख्या भएकाले कुनै पनि निर्णय उपर बराबरी भएको अवस्थामा कसको निर्णय मान्ने अवस्था आउने भएकाले तीन-तीनको सङ्ख्या भएको खण्डमा परिषद्को अध्यक्ष सहमत भएको पक्षमा बहुमत भएको मानी निर्णय गर्ने व्यवस्था गर्नु आवश्यक रहेको प्रधानमन्त्रीको तर्क छ ।

परिषद्को बैठकमा सर्वसम्मत हुन नसके बहुमतबाट निर्णय गर्न उचित हुने हुँदा सो कानूनी व्यवस्था गरिएको प्रधानमन्त्रीले दाबी गरेका छन् । सरकारले सिफारिस गरेको ८ वटै अध्यादेश जारी भएका छन् । वैशाख २० गते राष्ट्रपतिले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका थिए । यस्तै वैशाख १९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रपतिले जारी गरेका थिए ।

यस्तै वैशाख १८ गते राष्ट्रपतिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिरिङ) निवारण (तेस्रो संशोधन अध्यादेश तथा वैशाख १७ गते सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी गरेका थिए । यस्तै वैशाख १७ गते नै राष्ट्रपतिले सहकारी (पहिलो संशोधन) अध्यादेश पनि जारी गरेका थिए । मन्त्रिपरिषद्को १४ गते बसेको बैठकले अध्यादेशहरू सिफारिस गरेको थियो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं