Techie IT
  • २२ वैशाख २०८३, मंगलबार
KhojPatrika

कांग्रेसका पाँच भातृसंगठनका कार्यसमितिहरू स्वतः विघटन


काठमाडौं । लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेका नेपाली कांग्रेसका विभिन्न पाँच भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ मध्ये पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका हुन् ।

केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् । तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोबहादुर विश्वकर्माले राजीनामा दिइसकेका छन् । उनीहरू तत्कालीन सभापति शेरबहादुर देउवा निकटका हुन् । विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा गगन थापा आइसकेपछि महाधिवेशन गर्न नसकेका अध्यक्षहरूले जिम्मेवारीबाट अलग भएका हुन् ।

यसअघि पार्टीले महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूलाई २०८१ चैत मसान्तभित्र महाधिवेशन गर्न निर्देशन दिएको थियो । उक्त समयसीमाभित्र महाधिवेशन गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने व्यवस्था गरिएको थियो । पछि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असार १६ देखि २३ गतेसम्म बसेर कार्यतालिका पेश गरेका संघहरूलाई थप समय दिने निर्णय गरेको थियो । यद्यपि, अधिकांश भ्रातृ सङ्गठनहरूले तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न नसकेको र आवश्यक तयारीसमेत नदेखिएकाले म्याद थप गर्नु आवश्यक नरहेको निष्कर्षमा पार्टी पुगेको हो ।

नेपाल थारु सङ्घको हकमा जेठ १६ र १७ गते महाधिवेशन मिति तय भएकाले सो अवधिसम्म समयावधि थप गर्ने निर्णय कांग्रेसले गरेको छ । कांग्रेसको नर्सरी भनिने नेविसंघको २०७३ पछि महाधिवेशन हुन सकेको छैन । महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरको राजीनामा पछि १६ माघ २०७६ मा कांग्रेसले राजीव ढुंगानाको संयोजकत्वमा तदर्थ समिति बनाएको थियो ।

तरुण दलको पनि २०७३ पछि नियमित अधिवेशन हुन सकेको छैन । नेपाल महिला संघको पनि २०७३ पछि महाधिवेशन हुन सकेको छैन । २०६९ पछि नेपाल दलित संघको महाधिवेशन पनि हुन सकेको छैन ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं