Techie IT
  • १९ माघ २०८२, आईतबार
KhojPatrika

अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल


दोलखा । दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । विशेषगरी नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता अजयबाबु शिवाकोटीलाई उम्मेद्वार बनाएसँगै दोलखाको राजनीति गर्माएको हो । राष्ट्रिय पहिचान बनाइसकेका शिवाकोटीको उम्मेद्वारीले विशेष चर्चा पाएको छ।

शिवाकोटी पार्टीभित्र मात्र नभई निर्वाचन क्षेत्रभित्र पनि युवा नेतृत्व र नयाँ दृष्टिकोणको प्रतिनिधित्व गर्ने नेताका रूपमा परिचित छन् ।शिवाकोटी पत्रकारिताबाट राजनीतिक जीवनमा प्रवेश गरेका हुन्। पत्रकारको रूपमा कार्य गर्दा उनले समाजका विविध पक्ष, जनताको समस्या र सरकारी कार्यशैलीको निगरानी गर्दै आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका थिए ।

साथै शिवाकोटीले तत्कालीन सभामुख कृष्णबहादुर महरा र सञ्चार मन्त्री गोकुल बास्कोटाका काण्ड बाहिर ल्याउन खेलेको भूमिकाको प्रशंसा पनि मतदाताले गरेका छन् । यही अनुभव र कामको मूल्याङ्कन मतदाता तथा स्थानीय जनताले सकारात्मक रूपमा गरेको बताइएको छ।

निर्वाचन प्रचारका क्रममा शिवाकोटी समक्ष मतदाताले राष्ट्रिय राजनीति, जिल्लाका विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका विषयमा ध्यानाकर्षण गराएका छन् ।

जनताको सेवा र विश्वास नै आफ्नो पहिलो प्राथमिकता भएको भन्दै नेता शिवाकोटीले जनताले देखाएको भरोसालाई संसदसम्म पुर्याउन सबै शक्ति लगाउने प्रतिबद्धता जनाएका छन् ।

दोलखामा कांग्रेस, एमाले, माओवादी र अन्य साना पार्टीका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यस बीचमा शिवाकोटीको युवा नेतृत्व, पारदर्शिता र पत्रकारिता अनुभवले उनलाई मतदाताको नजरमा फरक बनाएको छ ।

स्थानीय राजनीतिक विश्लेषकका अनुसार शिवाकोटीको उम्मेद्वारीले कांग्रेसमा मात्र होइन दोलखाका मतदातामाझ पनि उत्साह र नयाँ ऊर्जा थपेको छ। उनका विचार र योजना जनतासम्म पुग्दा मत परिणाममा प्रभाव पर्ने सम्भावना छ।

निर्वाचन नजिकिँदै गर्दा शिवाकोटीको अभियान घरदैलो, स्थानीय सभा र सामाजिक संजालमार्फत मतदाता माझ सक्रिय रूपमा अघि बढेको छ ।

२०७० सालसम्म दुई ओटा निर्वाचन क्षेत्र रहेको दोलखा संविधान जारी भएपछि भने एउटा मात्रै संघीय निर्वाचन क्षेत्रमा परिणत भएको छ। आसन्न चुनावमा दोलखामा एक लाख ७० हजार ३० मतदाता छन् ।

अजयबाबुको चुनावी माहोल अगाडि बढ्दै गर्दा कांग्रेस प्रवेश गर्ने युवा पनि बढ्दै गएका छ्न् । नेकपा एमालेमा आबद्ध तामाकोशी गाउँपालिका दोलखाका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर भण्डारी र उद्धव भुजेललाई उनले कांग्रेसमा स्वागतसमेत गरेका छन् ।

उनले पहिलेदेखि भन्दै आएका छन्, ‘हामी सक्छौँ । परिवर्तन सम्भव छ ।’

जेन-जीहरूको पक्षमा जेन-जी आन्दोलनअघि नै आवाज उठाउँदै आएका अजयबाबुलाई जेन-जीका कांग्रेस नेता भनेर पनि युवाहरूले चिन्दै आएका छन् ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं