Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

नक्कली शरणार्थी प्रकरणमा उच्च तहको राजनीतिक सेटिङ, अझै को–को पर्लान पक्राउ !


काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँगको मिलेमतो गरेको आरोपमा भिआइपीहरु पक्राउ पर्न थालेका छन् । सरकारका वहालवाला सचिव पक्राउ परेर अदालतबाट म्याद समेत थप भएको छ भने पुर्वमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग आर्थिक मिलेमतो गरेको आरोपमा प्रहरीले सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।

बुधबार पक्राउ परेका पाण्डेलाई अदालतले तिनदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति समेत दिएको छ । मंगलबार मात्रै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई समेत पक्राउ गरेको थियो । यता बुधबार मात्रै पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दिप रायमाझीविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ ।

पक्राउ पुर्जी जारी हुँदा गृहजिल्ला अर्घाखाँचीमा रहेका रायमाझी भने सभामुख देवराज घिमिरेसँगै एउटै कार्यक्रममा सहभागी थिए । जहाँ उनलाई सुरक्षाकर्मीले सुरक्षा दिइरहेका थिए । उनले अनुसन्धानलाई सहयोग गर्ने समेत बताएका छन् । बुधबार मात्रै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिकविरुद्ध समेत बुधबारै पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएकाहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

यता यही काण्डमा नाम जोडिएका पूर्वसचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राइले भने बुधबार राष्ट्रपति र उपराष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । विक्रम सम्बत् २०७६ साल जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई प्रहरीले चैत १२ गते नै पक्राउ गरेको थियो ।

केशव दुलाल २०६६ सालमा कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री बन्दा उनका स्वकीय सचिव थिए । उक्त गिरोहले आठ सय ७५ जना धेरै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम उठाएको अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा गिरोहले एक अर्ब ठगी गरेको खुलेको छ । प्रहरीले अनुसन्धान अगाडि बढाउँदै जाँदा अन्यलाई समेत पक्राउ गर्नसक्ने देखिएको छ । यता गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने अपराधमा संलग्न जोसुकै भएपनि कारबाही गर्ने दाबी गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेपाली नागरिकलाई भुटानी, #भिआइपीहरु पक्राउ पर्न, #शरणार्थी बनाएर अमेरिका

तपाईको कमेन्ट लेख्नुहोस्