Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

रास्वपाको बढ्यो दुई सिट, चितवनमा रविको फेरि उदय, तनहुँमा स्वर्णिमले मारे बाजी !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनको दुई क्षेत्रमा बाजी मारेको छ । चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका उमेद्वारले कांग्रेस उमेद्वारलाई भारी मतले पछि पार्दै बाजी मारेका हुन् । रास्वपाका सभापति रवि लामिछानेले त मंसिर ४ मा आफूले नै पाएको मतको रेकर्ड तोड्दै ४३ हजार २५ मतान्तरले निकटम प्रतिष्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठलाई हराउदै विजयी भए । मंसिरमा उनले ४९ हजार ३ सय मत पाएका थिए । अहिले भने लामिछानेले ५४ हजार २ सय ७६ मत प्राप्त गरी दोस्रो पटक संसद छिरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी श्रेष्ठले भने ११ हजार २५१ मत पाए ।

तेस्रो नम्बरमा परेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाए । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा ५ प्रतिशत कम मत खसेपनि लामिछानेले पाएको मत भने बढेको छ । लामिछाने विजयी भएपछि कांग्रेसका श्रेष्ठ मत गणनास्थलमै पुगेर र एमालेका न्यौपानलेले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । विजयी भएपछि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने दाबी गरे ।

सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड त्यसैमा दिने उनको दाबी छ । मंसिर ४ गतेको चुनावमा विजयी लामिछानेले नागरिकता मुद्धामा सर्बोच्च अदालतले गरेको फैसलाका कारण सांसद, उपप्रधान तथा मन्त्री पद समेत गुमाएका थिए । एक महिनाअघि मात्रै कांग्रेस त्यागेर रास्वपाबाट चुनाव उठेका तनहुँ क्षेत्र नम्बर १ का उम्मेद्वार डा. स्वर्णिम वाग्लेले पनि उपनिर्वाचनबाट संसद छिर्ने मौका पाएका छन् ।

वाग्लेले भारी मतान्तरसहित निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा करिब १५ हजार बढी मत ल्याएर विजयी भएका हुन । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४ सय ८८ मत ल्याएका थिए । वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवार रामचन्द्र पौडेलले भन्दा बढी मत ल्याएका हुन ।

निर्वाचित वाग्लेलाई कांग्रेसबाट उम्मेदवार रहेका भट्टराईले माला लगाइदिएर बधाई तथा शुभकामना दिए । दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । सोही कार्यक्रममा भट्टराईले स्वर्णिमलाई मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा आफ्नो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहने बताए ।

नवनिर्वाति सांसद डा.वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताए । उनले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने दाबी गरे । मंंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो । एक पद गुमाएको रास्वपाले उपनिर्वाचनबाट दुई सिट जितेको छ । अव संसदमा रास्वपाका २१ सांसद रहनेछन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #तनहुँमा स्वर्णिम, #रविको फेरि उदय, #रास्वपाको बढ्यो दुई सिट

तपाईको कमेन्ट लेख्नुहोस्