चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु, प्रचार–प्रसार गर्न नपाइने
काठमाडौं । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि प्रचार–प्रसार निषेधको अवधि लागु भएको निर्वाचन आयोगले जनाएको छ । आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसारलाई निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार–प्रसार निषेधको अवधि लागु हुनेछ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न–गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमीला कुमारी, ममता झा, रामसहाय प्रसाद यादव गरी ४ ९चार० जना उम्मेदवार रहेका छन् । यद्दपि प्रमिलाले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेकी छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपराष्ट्रपति निर्वाचन, #निर्वाचनका लागि मौन अवधि
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्