प्रतिनिधिसभामा कांग्रेस नै बस्यो प्रतिपक्ष बेञ्चमा, प्रेम सुवाल र चित्रबहादुर केसीको कडा कटाक्ष

काठमाडौं । पहिलो पटक प्रतिनिधिसभामा प्रतिपक्ष दल को हो भन्ने सवाल उठेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि प्रतिपक्ष को हो भन्ने सवाल उठेको हो । विहिबारको बैठकमा कांग्रेस प्रतिपक्ष दलको बेञ्चमा बस्दा अन्य दलहरुले भने कानुनको खिल्ली नउडान संसदको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभामा पहिलो दल नेपाली कांग्रेस प्रतिपक्षको बेञ्चमा बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रतिपक्षको हैसियत गुमाएको टिप्पणी हुँदै आएको थियो । तर, प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि बसेको विहिबारको पहिलो बैठकमा कांग्रेस प्रतिपक्ष दलकै बेञ्चमा बसेको हो ।
कांग्रेससँगै नेकपा एकीकृत समाजवादी, लोसपा पनि प्रतिपक्षमा बसेका छन् । उनीहरुले पनि कांग्रेसको जस्तै प्रचण्डलाई विश्वासको मत दिएका थिए । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय संसदमा सुनाएपछि आलोचना हुँदै आएको थियो । बिहिबारको बैठकमा पनि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस पार्टी प्रमुख विपक्षी दल रहन नसक्ने जिकिर गरे ।
सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दलमध्ये नेमकिपा सबैभन्दा ठूलो दलले भएकोले संघीय कानून बमोजिम नेमकिपा नै विपक्षी दल भएको भन्दै कानून बमोजिम दलको नेता तोकेर मात्र अरू प्रक्रिया अघि बढाउन सभामुखको ध्यानाकर्षण गराए । संसदमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ सरकार गठनका बेला धेरै नाटक देखिएको बताएका थिए । उनले पहिला भन्दा यसपटको संसद र सरकार बनेको प्रक्रियाले झन अप्ठेरो अवस्थामा पुगेको टिप्पणी गरे ।
कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि केसीले निरन्तर झटारो हानिरहेका छन् । मतदानमा सहभागी दल र सांसदमध्ये प्रचण्डलाई राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले मत दिएका थिएनन् । प्रतिनिधि सभा नियमावलीमा प्रतिपक्षी दलको प्रावधानवारे ब्यवस्था गरिएपनि त्यस्को आ आफ्नै ढंगले ब्याख्या हुने गरेको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनले मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेक का दलमध्ये सबैभन्दा ठूलो दललाई विपक्षी दल भनेको छ ।
कांग्रेसले मन्त्रिपरिषद् गठन गर्न समर्थन नगरेको र विश्वासको मत मात्रै दिएका कारण उसले प्रतिपक्षी दलको हैसियत कायमै रहेको दाबी गर्दै आएको छ । प्रतिपक्ष दलबारे अनेकौ टिप्पणी आइरहेका छन् । बुधबारको सर्वदलीय बैठकमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता रमेश लेखकबीच भनाभन नै चलेको थियो । ओलीले कांग्रेस प्रतिपक्ष हुन नसक्ने बताउँदा लेखकले प्रतिपक्ष नै भएको जिकिर गरेका थिए । कांग्रेसले सरकारलाई समर्थनको मत दिएका कारण अब नैतिक र राजनीतिक दुवै दृष्टिले विपक्षी दलको हैसियत गुमाएको आरोप भने खेपिरहेको छ । कानुनी पक्षको आ आफ्नै ब्याख्या भएपनि कांग्रेसलाई प्रमुख प्रतिपक्ष दलको बिषयमा नैतिक प्रश्नको भने सामना गरिरहनुपर्ने देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कांग्रेस नै बस्यो प्रतिपक्ष, #प्रतिपक्ष बेञ्चमा
तपाईको कमेन्ट लेख्नुहोस्