Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

नेपाली कांग्रेसको घोषणापत्रः कोखदेखि शोकसम्म थुप्रै महत्वाकांक्षी योजना


काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसले कोखदेखि शोकसम्मका योजना सार्वजनिक गरेको हो । कांग्रेसले आगामी ५ वर्षमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग ५० प्रतिशत पुर्याउने चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । संकल्प पत्रमा सन् २०४५ सम्म (आगामी २३ वर्ष) मा शहरी यातायातमा खनिज ऊर्जा (डिजेल–पेट्रोल) को उपयोग शून्यमा झार्ने उल्लेख पनि गरिएको छ ।

जलवायु परिवर्तन भई वातावरणीय सन्तुलन र विविधता, भौगोलिक सुन्दरता र जीविकोपार्जनमा गम्भीर असरहरु देखिन थालेको भन्दै कांग्रेसले कार्वन उत्सर्जन र प्रदूषण घटाउने, आम जीवनशैली पर्यावरणमैत्री बनाउने, जलवायु अनुकुलनका योजनाहरू बनाउने र विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिने उल्लेख छ । शनिबार सार्वजनिक कांग्रेसको चुनावी घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरु ल्याउने उल्लेख छ । जहाँ सुत्केरी भत्ता ५ हजार पुर्‍याउने घोषणा गरिएको छ ।

चालु आर्थिक बर्षबाटै सरकारले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिँदै आएको छ । तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भन्दै कांग्रेसले नारा दिएको छ । ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने, बिमाको दायरा बढाएर १० लाख रुपैयाँ पुर्‍याउने पनि घोषणापत्रमा छ ।

६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गर्ने भनिएको छ । पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका २६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ नगरपालिकामा विशेषज्ञ चिकित्सकसहित प्राथमिक अस्पताल र सबै उपमहानगरपालिका था महानगरपालिकामा विशेषज्ञ सेवासहित अस्पताल सञ्चालन गर्ने पनि कांग्रेसको घोषणा छ ।

त्यस्तै, कांग्रेसले सबै महिलालाई निःशुल्क स्यानिटरी प्याड, हरेक स्थानीय तहमा एम्बुलेन्सलगायतका स्वाथ्य सेवा पुर्‍याउने घोषणा गरेको छ । उसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । कांग्रेसले विपन्न नागरिकलाई मृत्यु संस्कारका लागि १० हजार दिने घोषणा पनि गरेको छ । कांग्रेसको घोषणापत्रमा ५० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिनेदेखि नागरिकका महत्वपूर्ण दस्तावेज ‘होम डेलिभरी’ गर्नेसम्मका योजना समावेश छन् ।

‘अर्थतन्त्रका चार प्रमुख क्षेत्र वास्तविक, वित्तीय, मौद्रिक र बाहृय फाँटमा देखिएका प्रतिकूलतालाई हामी आफ्नै वैचारिक धरातल, अभ्यास, जन्म, सिकाइ र अनुभव तथा निजी क्षेत्र र नागरिक समाजसँगको परामर्श एवं प्राज्ञिक शोध र अन्तर्राष्ट्रिय साझेदारहरुको सल्लाहका आधारमा समाधान गर्नेछौं,’ संकल्पपत्रमा भनिएको छ । त्यस्तै, ‘सबै सरकारी सेवाहरुलाई यथाशक्य अनलाइनमा उपलब्ध गराई जनताले लाइन लागेर सरकारी सुविधा लिनुपर्ने स्थिति अन्त गरिने छ’, घोषणापत्रमा भनिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेसको घोषणापत्र, #कोखदेखि शोकसम्म, #चुनावी संकल्प पत्र

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं