Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

भेटिएनन् एम अधिकारी, एमालेको टालटुले जवाफ, नाम लिएका ब्यक्ती मोवाइल अफ गरी लुके

राजीनामा दिन प्रधानमन्त्री देउवाको दवाव


काठमाडौं । एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी को हुन ? अहिले यो धेरैको चासोको विषय बनेको छ । कतिपयले एम अधिकारी राष्ट्र बैंकका गर्भनर भएको दावी गरिरहँदा एमालेले भने एम अधिकारी र महाप्रसाद अधिकारी फरकफरक व्यक्ति भएको टालटुले जवाफ दिएको छ । यसअघि पनि एमाले अर्थ तथा योजना विभागमा सदस्यको जिम्मेवारी निर्वाह गरिसकेकाले पनि महाप्रसाद अधिकारी नै एम प्रसाद अधिकारी हुन् भनिएको हो । तर कतिपयको यस्तो दावीलाई महाप्रसाद अधिकारी र नेकपा एमालेले खन्डन गरेका छन् ।

नेकपा एमालेको अर्थ तथा योजना विभागका एकजना सदस्यको नाम एम अधिकारी भएकोले आफूप्रति लक्षित गरी कतिपय भ्रामक समाचार आएको भन्दै खण्डन गरिदिन अनुरोध गरेर अधिकारीले एमालेलाई पत्र पठाएका थिए । त्यसको जवाफमा एमालेले एम अधिकारी भनेको राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी होइन भनेर पत्र पठाएको छ । पार्टी र महाप्रसाद अधिकारीबीच यस्तै पत्राचार २०७३ मा समेत भएको देखिन्छ ।

नेकपा एमालेले एम अधिकारी भनेका को होइनन् भनेर बोलेको छ तर एम अधिकारी को हुन भनेर अझै भन्न सकेको छैन । यसरी विवाद सतहमै छताछुल्ल हुनेगरी आउँदा पनि एमालेले वास्तविक एम अधिकारी को हुन् भनेर बताउन नसक्दा आशंकालाई थप बल मिलेको छ । त्यसैले पनि एम अधिकारी अहिले धेरैको खोजीको विषय बनेका छन् । बास्तवमा एमाले अर्थ तथा योजना विभागमा उल्लेखित खोटाङ निवासी एम अधिकारी को हुन् त ? एम अधिकारी नै महाप्रसाद अधिकारी भएको सत्ता गठबन्धनका नेताहरुको दावी छ ।

एम अधिकारी छुट्टै व्यक्ति भए एम अधिकारी सार्वजनिक गर्न अथवा फोटोसम्म भएपनि देखाउन एमालेलाई चुनौति दिइरहेका छन् । तर, एमाले भने यो दलको आन्तरिक विषय भएको भन्दै प्रश्नबाट पन्छिन खोज्दैछ । यस्तो अवस्थामा सरकारले यो विषयको गम्भिर छानविन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग पनि उठ्न थालेको छ । कुनै पनि व्यक्ति कुनै राजनीतिक दलको सदस्य रहेमा गभर्नरका लागि अयोग्य मानिन्छ । त्यसैले पनि यो विषय यतिधेरै चर्चामा आएको हो ।

केही समयअघि मात्रै अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराई मध्यरातमा करका दर हेरफेर गर्न लागाएको आरोपमा अर्थमन्त्री जनार्दन शर्मा राजिनामा दिन बाध्य भए । त्यो विषय अहिले छानविनको दायरामा छ । तर, महाप्रसाद अधिकारीले र एमालेले अहिलेसम्म एम अधिकारी नै गभर्नर महाप्रसाद अधिकारी हुन् भन्ने कुराको खण्डन गर्दै आएकाले अहिलेसम्म उनी गभर्नर पदमै बहाल छन् । तर, एमाले अर्थ विभागका एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एउटै व्यक्ति हुन भने उनी पदमा बस्न नमिल्ने पूर्व गभर्नर चिरञ्जीवी नेपाल बताउँछन् ।

उसो त नेपाल लगायत अन्य गभर्ननहरु पनि दलमा आवद्धताकै कारण त्यो पदसम्म पुगेका हुन् तर उनीहरुले प्रक्रिया पु¥याए । एम अधिकारी नै महाप्रसाद अधिकारी हुन् भने सायद उनी प्रक्रिया पुर्याउन चुके । नक्कली एम अधिकारी बनाउन खोजिएका सीए मनोज अधिकारी बिहीवारदेखि नै सम्पर्कविहीन भएपछि मोरङका एमाले नेताहरू तनावमा छन् । एकातिर केन्द्रको प्रेसर, अर्कातिर मनोजसँग सम्पर्क हुन नसक्दा तनावमा एमाले नेताहरु छन् ।

एमबाट नाम आउने अधिकारी थरका अन्य व्यक्ति कोही छ कि भनेर पनि खोजीमा लागेका छन् । तर, अहिलेसम्म अर्को कुनै पनि व्यक्ति एम अधिकारी बन्न तयार भएको छैन । कतैबाट पनि प्रष्ट नभइसकेकाले अहिले अनुमानकै अवस्था छ । यस्तो अवस्थामा यदि एम अधिकारी नै महाप्रसाद अधिकारी हुन् भने उनलाई कारवाही हुनुपर्ने बरिष्ठ अधिवक्ता गान्धि पण्डित बताउँछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

यसअघि अर्थमन्त्रीसँगको टकरावका कारण सरकारको सुचना चुहावट लगायतका आरोपमा निलम्बनमा परेका अधिकारी सर्वोच्चको आदेशमार्फत आफ्नो जिम्मेवारीमा फर्किन सफल भएका थिए । विगतमाझैं योपटक पनि उनी गभर्नरमै बहाल रहन सफल हुन्छन् अथवा एम अधिकारी र महाप्रसाद अधिकारी एउटै व्यक्ति भएको प्रमाणित भएर कारवाहीमा पर्छन् त्यसको भने प्रतिक्षा नै रहनेछ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एम अधिकारी, #मोवाइल अफ

तपाईको कमेन्ट लेख्नुहोस्