न्याय परिषद्को अर्को एक्सनः खराब आचरण भएका दुई न्यायाधीशमाथि बर्खास्त गर्न सिफारिस

काठमाडौं । न्याय परिषद्को बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । शुक्रबारको परिषद् बैठकले खराब आचरण र कार्यक्षमताको अभाव देखिएका दुई न्यायाधीशलाई बर्खास्त गर्न कामु प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
खराब आचरण, फैसलामा कैफियत र कार्यक्षमताको अभाव देखिएका उच्च अदालत सुर्खेत अन्तरगत जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्तीका लागि सिफारिस गरिएको छ । त्यसैगरी बैठकले बर्दिया जिल्ला अदालतमा कार्यरत न्यायाधीश लोकजंग शाहलाई पनि बर्खास्त गर्न कामु प्रधानन्यायाधीशसमक्ष सिफारिस गरिएको छ ।
शाहमा पनि खराब आचरण, फैसलामा कैफियत र कार्यक्षमताको अभाव देखिएको कारण बर्खास्तीका लागि सिफारिस गरिएको हो । न्यायाधीश अन्सारी र शाहलाई सर्वोच्च अदालतले काजमा राखेर अनुसन्धान गरिरहेको थियो । शुक्रबारकै बैठकले उच्च अदालत तुलसीपुरमा कार्यरत न्यायाधीश बबिता उप्रेतीलाई सचेत गराउने निर्णय गरेको छ ।
यसअघि न्यायपरिषद्को बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको थियो । न्यायपालिकाको शुद्धीकरणका लागि भन्दै आन्दोलन गरेका न्यायाधीशमध्ये दीपककुमार कार्की यतिबेला कामु प्रधानन्यायाधीश छन् भने हरिकृष्ण कार्की न्याय परिषद्का सदस्य छन् ।
आफ्नै संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदनमा वरिष्ठतम् न्यायाधीश कार्कीले न्यायपालिकामा न्यायाधीश नियुक्तिदेखि नै भ्रष्टाचार हुने गरेको र कमजोर क्षमता भएका व्यक्तिहरु पनि न्यायाधीशमा नियुक्त हुने गरेको उल्लेख गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #न्याय परिषद्, #न्यायाधीशलाई बर्खास्त
तपाईको कमेन्ट लेख्नुहोस्