पक्राउ परे सर्वोच्चले फैसला उल्ट्याएको भोलिपल्टै रञ्जन कोइराला

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला सुनाएलगत्तै लुकेर बसेका पत्नी हत्यामा दोषी सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट कोइरालालाई पक्राउ गरिएको हो ।
जन्मकैद मुद्दामा जेल सजाय बिताइरहेका कोइराला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ८ वर्ष जेल बसेमा सजायको मक्सद पूरा हुने फैसला गरेपछि २०७७ साउन ८ मा छुटेका थिए । तर, बिहीबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा कुमार चुडालको इजलासले जबरा र केसीले गरेके फैसला उल्टाउँदै रञ्जनलाई जन्मकैद नै हुने फैसला सुनाएपछि प्रहरीले कोइरालालाई पक्राउ गरेको हो ।
कोइरालाले अब साढे ११ वर्ष जेल बस्नुपर्नेछ । पक्राउ परेका कोइरालालाई प्रहरीले अब फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्नेछ । त्यसपछि उनी पुनः कारागार चलान हुनेछन् । कोइरालाले सशस्त्र प्रहरीको डीआईजी रहेका बेला २०६८ पुस २७ मा पत्नी गीता ढकालको हत्या गरेका थिए ।
पारिवारिक सम्बन्ध बिग्रिँदै गएपछि छुट्टिएर बस्न थालेका रञ्जनले सम्बन्ध विच्छेदका लागि दबाव दिँदै अंश चलनको मुद्दा हालेका थिए भने गीताले माना चामल मुद्दा हालेकी थिइन् । छोरी सम्पर्कविहीन भएपछि उनका बाबु हरेराम ढकालले २०६८ माघ ६ मा महानगरीय प्रहरी परिसरमा जाहेरी दिए । प्रहरी अनुसन्धानका क्रममा रञ्जनले २७ पुसमै गीताको हत्या गरेर मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङ भन्ने ठााउँमा शव जलाएको पुष्टि भएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जन्मकैद मुद्दामा जेल, #रञ्जन कोइराला पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्