सर्बोच्चले लगायो बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक,विकल्प खोज्न आदेश
काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयमाथि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । योसँगै अब तत्कालका लागि नेपालकै तेश्रो अन्तर्राष्ट्रिय विमानस्थलको चर्चासहित बनाउने तयारीमा रहेको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्नुपर्ने भएको छ ।
निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएसँगै जग्गा अधिग्रहण, रुख कटान लगायतका सबै काम तत्काललाई रोकिएका छन् । वातावरण सरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले निजगढमा सरकारले अध्ययन बिनै पेलेर विमानस्थल बनाउन लागेको बनजंगल फडानी लगायतका बिषय उठाएर रिट दायर गरेका थिए ।
रिटमाथी सुनुवाइ गर्दै बिहीबार सर्वोच्चको बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प छनोट गर्न परमादेश दिइएको बताइएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले निजगढ विमानस्थलका सबै निर्णय अदालतको आदेशबाट खारेज भएपनि उपयुक्त विकल्पसहित अघि बढ्न सुझाब दिएको बताए । सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको छ ।
बृहत पूर्ण इजलासले बिहीबार सरकारलाई नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको हो । निजगढमा विमानस्थल बनाउनेसम्बन्धी २०७१ फागुन र चैत तथा २०७५ पुसमा सरकारले निर्णयहरू गरेको थियो । सर्वोच्चले विमानस्थल निर्माणका लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र त्यसलाई ससर्त स्वीकार गर्ने वन मन्त्रालयको निर्णयलाई पनि बदर गरिदिएको छ ।
तराईको चारकोसे झाडीले भरिएको बाराको निजगढमा करीब २४ लाख सालका साना–ठूला रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पनि निजगढ विमानस्थल बनाउने प्रस्ताव थियो । वातावरण संरक्षणका लागि क्रियाशिल व्यक्ति तथा संस्थाहरूले निजगढमा विमानस्थल बनाउँदा त्यसले वातावरण र वन्यजन्तुलाई अपूरणीय क्षति पुर्याउने भन्दै यो योजनाको विरोध गर्दै आएका थिए ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #तेश्रो अन्तर्राष्ट्रिय विमानस्थल, #निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, #सर्वोच्च अदालतले रोक
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्