८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिता आयोजना गर्ने क्रममा किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना आयोजक पक्राउ परेका छन् । किशोरीले लगाएको अभियोगका आधारमा कार्यक्रम आयोजक मनोज पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो ।मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका पाण्डेसहितको टिमले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको सामाजिक सञ्जालमार्फत पीडितले अभियोग लगाएकी छिन् । तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको दाबी पीडित किशोरीले गरेकी छिन् । बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् ।
घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको पीडितले बताएकी छिन् । उनले सौन्दर्य प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमको बाहानामा हिंसा हुने गरेको खुलाशा गर्दै पीडित युवतिले फोटो भीडियो खिज्दा होस् वा प्रतियोगितामा सहभागि हुँदा आमसहित उपस्थित भएर हिंसाबाट जोगिन सुझाब दिएकी छिन् ।
संसदमा समेत हदम्यादको बहस
जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको छ । आठ वर्षअघिको घटनाको अनुसन्धानमा कानुनी जटिलता हुने बारे पुनः विक्षिप्त हुँदै युवतीले थप भिडियो सार्वजनिक गरेपछि यो विषयले संसद्मा पनि प्रवेश पाएको छ । कांग्रेस नेता एवं सांसद गगनकुमार थापाले घटनामा तत्काल छानविन थालेर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । त्यसपछि सभामुख अग्नि सापकोटाले पनि अनुसन्धान अघि बढाउन सरकारलाई रुलिङ गरेका थिए ।
जबरजस्ती करणीको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवा तथा अभियन्ताहरुले स्वतः स्फूर्तरुपमा भेला भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, माइतिघर, राजधानीबाहिर पोखरा, झापालगायतका विभिन्न शहरमा प्रदर्शन गर्दै आएका छन् । शनिबार नेपालका विभिन्न ठाउँमा पीडकलाई कारबाही र पीडितको न्यायका लागि भन्दै प्रर्दशन भइरहँदा अभियोग लगाइएका मुख्य व्यक्ति पक्राउ परेका छन् ।
गृह मन्त्रालयले शुक्रबारै घटनाको छानविनका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको थियो । समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सपना खड्का सदस्य रहेका छन् ।
जबरजस्ती करणीको मुद्दामा एक वर्षे हदम्याद भएकाले मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ (ख) मा ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, जबर्जस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिएको आधार मानेर कारबाही अघि बढाउने तयारी गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख
ट्याग : #किशोरी, #मनोज पाण्डे, #सौन्दर्य प्रतियोगिता
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्