Techie IT
  • २२ वैशाख २०८२, सोमबार
KhojPatrika

सत्ता र स्वार्थका लागि पार्टी फुटाउन मरिहत्ते गर्ने नेताहरु, जो शक्तिमा कहिल्यै आउनै सकेनन्

नेतालाई अस्तित्व जोगाउनै गाह्रो


काठमाडौं । नेपालमा राजनीतिक दलहरु कतिवेला जुट्छन र कतिवेला फुट्छन आँकलन गर्न निकै कठिन छ । सैद्धान्तिक र बैचारिक रुपमा एजेण्डा मिल्ने तथा नमिल्ने दलहरु फुटको समस्याबाट टाढा छैनन् । पार्टीको विधानमा राखिएका राजनीतिक विचार, सिद्धान्त र एजेण्डा जनतालाई भ्रम छर्न मात्रै प्रवाह भइरहेका छन् भन्दा फरक पर्दैन । बिचारको बहस भन्दा यहाँ ब्यक्तीबादी स्वार्थ र कुण्ठाले काम गरिरहेको छ । दलीय नारा, एजेण्डा र सिद्धान्त जे भएपनि व्यवहारिकता भने सत्ता स्वार्थमा लेनदेन नै प्रमुख देखिइरहेको छ । दलहरुको बैचारिक धार कमजोर बन्दै जाँदा पद, पैसा र प्रतिष्ठा प्राप्तीको लडाइमा बढी ध्यान जाने प्रबृत्ति हाबी भएको देखिन्छ । पार्टीमा आफ्नो प्रभाव कम हुँदै गयो भने मात्रै होइन स्वार्थ केन्द्रीत राजनीति पूरा हुने सम्भावना नभए एकैछिनमा दल फुट्न सक्छन् ।

पद, पैसा, पावर र प्रतिष्ठाका लागि गुट, जुट, र झुट झाँगिने देखियो भने जतिबेला पनि मिल्न सक्छन् । राजनीतिक दलहरुका नेताहरुमा विगतदेखि नै यहि समस्याले जरा गाडेको छ । पछिल्लो समय एमसीसी विवादले धेरै पार्टीमा दरार ल्याइदिएको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपादेखि लोसपासम्मका दल कति बेला चोइटिने हुन् कुनै पत्तो छैन् । मधेसमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा आएका मधेसवादी दलहरु पुनः विभाजनको संघारमा छन् । सात महिनाअघि विभाजित उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी फुटको डिलमा पुगेका छन् । जनता समाजवादीमा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शक्ति बाँडफाँटका लागि सुरु भएको विवाद उत्कर्षमा पुग्दा लोसपा अध्यक्ष ठाकुरको एकलौटी निर्णय गर्ने कार्यशैलीप्रति नेता–कार्यकर्ताले पार्टी छाड्न लागिरहेका छन् ।

भट्टराईलाई पार्टी अध्यक्ष बन्ने चाहना हुँदा आफैले जन्माएको पार्टी उपेन्द्र यादवले छाड्ने सम्भावना नै देखिदैन । जसपाबाट फुटेर ०७८ भदौ १ मा दर्ता भएको लोसपाका नेता–कार्यकर्ताले नेतृत्वले पार्टीलाई गतिशील बनाउन नसकेको आरोप लगाउँदै धमाधम पार्टी परित्याग गरिरहेका छन् । नेकपा माओवादी केन्द्रमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच एमसीसीले तिक्तता बढाएको छ । एकीकृत समाजवादीमा माधव कुमार नेपाल र झलनाथ खनाललाई एमसीसीले नै दुरी बढाइदिएको छ । जसका कारण कतिबेला यी दलहरुमा संकट आइलाग्छ पत्तै छैन् ।

सत्ताको बागडोर सम्हालेको ठूला दल एमाले फुटेको एक बर्ष बितेको छैन् । एमालेबाट चोइटिएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी बन्यो । माओवादी केन्द्रका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन तयार भए । एमालेमा ठाउ नपाएकाहरु माधव नेपाल समूहमा समाहित भएपछि कांग्रेसँगको सत्ता साझेदारीमा मन्त्री बनेका छन् । आफूलाई बैकल्पिक शक्ति दाबी गर्ने विवेकशील साझा पार्टीमा पनि खैलाबैला मच्चिएको छ । संयोजक मिलन पाण्डे र अर्का संयोजक रवीन्द्र मिश्रलेबीचको टकरावले पार्टी नै गुमनाम बन्न लागेको छ ।

माघ अन्तिममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा पार्टीबाट बाहिरिए पूनः राप्रपा व्यूताए । यसरी हेर्दा पार्टीहरु छिटो छिटो फुट्नुको कारण नेताहरुमा सधै पद, पैसा र पावरमा बसीरहनु पर्ने सोच नै हो । पद पैसा र पावरमा रहन नेपालमा पार्टी फुटाइएपनि पछिल्ला ७ दशकका घटनाक्रमले फुटेर नयाँ पार्टी बनेका पार्टी नफस्टाएको, नधानिएको बरु मूलधारमै फर्केको वा अन्य पार्टीसँग विलय भएर नेता नै गुमनाम भएका उदाहरण थुप्रै छन् ।
कुन–कुन नेता फर्किए पुरानै पार्टीमा
१.शेरबहादुर देउवा
२०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर शेरबहादुर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । कांग्रेस प्रजातान्त्रिकको उनी सभापति बने । तर, आन्तरिक अन्तरद्वन्द्वका कारण कांग्रेस फुटाएर नयाँ पार्टी गठन गरेका देउवाले सहज रुपमा पार्टी चलाउन सकेनन् । त्यसपछि २०६२/६३ को जनआन्दोलनपछि २०६४ सालमा देउवा फेरि नेपाली कांग्रेसमा फर्किए र यतिबेला सभापति र देशको प्रधानमन्त्री बनेका छन् ।
२.बामदेव गौतम
महाकाली सन्धीको विषयमा तीब्र विवाद हुँदा २०५५ सालमा नेकपा एमाले विभाजित भयो । गौतमको नेतृत्वमा नेकपा माले गठन भएको थियो । सिपी मैनाली, साहना प्रधान लगायतका नेता मालेमा पुगेपनि पार्टीले आकार लिन सकेन । त्यसपछि बामदेव र साहना एमालेमै फर्किए । एमालेबाट माधव कुमार नेपाल बाहिरिएपछि भने गौतमले फेरि पार्टी परित्याग गरेका छन् । सिपी मैनाली भने बर्षौदेखि मालेको महासचिव भएर सानो पार्टी चलाइरहेका छन् ।
३.बिजयकुमार गच्छदार
२०६४ सालको संविधानसभा चुनावमा बिजयकुमार गच्छदारले चाहेका केही मान्छेलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले टिकट दिन नमानेपछि उनी मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरे । २०६६ मा पार्टी सरकारमा जाने र नजाने बिवाद हुँदा फेरि गच्छदारले पार्टी फुटाएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेर माधव नेपाल नेतृत्वको सरकारमा सहभागी भए । मधेशकेन्द्रीत राजनीति गरिरहेका गच्छदार पार्टी चलाउन कठिन परेपछि २०६४ मा फेरि कांग्रेसमै समाहित भएका थिए । उनी अहिले बालुवाटार जग्गा प्रकरणको भ्रष्टचार आरोपका कारण निलम्बित छन् ।
पार्टी फुटाएका नेतालाई अस्तित्व जोगाउनै गाह्रो
वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गराउने भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी केद्रबाट अलग भएर नयाँ शक्ति पार्टी खोले । तर, पार्टीमा नेताहरुले क्रमश छोडेदै गगएपछि बिरक्तीएका भट्टराई मधेश केन्द्र्रीत दल जसपासँग पार्टी समाहित गरे । बाबुरामको इन्ट्रिपछि चुलिँदै गएको विवादले जसपामा अहिले फेरि उग्र रुप लिएको छ । एमाले छाडेर संघीय समाजवादी गठन गरेका अशोक राई पनि पार्टी चलाउन सकेनन् । अहिले जसपामा राजनीति गरिरहेका राई गुमनाम जस्तै छन् ।

नेकपा माओवादीबाट बाहिरिएका मोहन बैद्य, नेत्रबिक्रम चन्द पनि यतिबेला राजनीतिमा स्पेस खोजेपनि पाउन सकेका छैनन् । बैद्यलाई नेता कार्यकर्ताले छोड्दैछन् भने चन्दले युद्धका चर्का भाषण गरेर कार्यकर्तालाई थुमथुमाएका छन् । नेपाली कांग्रेसको राजनीतिबाट बाहिरिएर मधेश केन्द्रीत राजनीति गरिरहेका महन्थ ठाकुर यतिबेला पार्टी निल्नु र ओकल्नु भएको छ । बिभिन्न पार्टीबाट बिभाजित हुँदै अहिले लोसपाको नेतृत्व गरिरेका ठाकुरलाई पनि नेताहरुले साथ छोड्दै गएका छन् । पूर्वपञ्चहरूको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि नेताहरुको फुट र जुटले तंग्रीन सकेको छैन् ।

३० वर्षे पञ्चायती सत्तामा रजगज चलाएका पञ्च नेताहरु मिलेर २०४६ सालको जनआन्दोलन सफल भएपछि २०४७ जेठ १५ गते राप्रपा स्थापना गरेपनि अहिले नेताहरु अस्तीत्व बचाउन दौडधुप गरिरहेका छन् । विगतका थुप्रै घटनाक्रमले पार्टी फुटाउने ब्यक्ती सोही पार्टीबाट राजनीतिमा उदाएको देखिदैन । तर, नेताहरु अझै पार्टी फुटाउन र गुट चलाउन किन मरिहत्ते गर्छन् होला ?


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पद, #पैसा र प्रतिष्ठा, #राजनीतिक दलहरु, #सत्ता स्वार्थ, #सैद्धान्तिक र बैचारिक

तपाईको कमेन्ट लेख्नुहोस्