Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

बाल संगठनको जग्गामा बृहस्पती बिद्यासदनको रजाँई,२९ रोपनी जग्गा कौडीको भाउमा लिज

२७ बर्ष अध्यक्ष बनेकी रिता सिंह बैद्यको बद्मासी


काठमाडौं । चाहे उच्च व्यवसायीक घरानाले चलाएको यति समूह होस वा छोटो समयमै उच्च प्रगती गरेको बतास समूह । अनि नेताहरुको स्वार्थ जोडिएको ओम्नी, मारवडी सेवा समित । यी र यस्ता अनेकौँ व्यवसायीक घरानाहरुले सरकारी जग्गा कौडीको भाउमा लिएर करोडौँ मुनाफा गरिरहेका छन् । केही वर्षयता सरकारी जग्गा अतिक्रमणको होडवाजी नै चलेको देखिएको छ । काठमाडौको नक्सालमा रहेको बृहस्पती विद्यासदन स्कुलले समेत नेपाल बालसंगठनको २९ रोपनी जग्गा कानुन विपरित ५० औ बर्षका लागि कौडिको भाउमा भाडामा लिएको पाइएको छ । जसमा मासिक भाडा प्रतिबर्ग फिट ६ रुपैया मात्र तोकिएको छ ।

अझै हरेक ५ बर्षमा जम्मा ५ प्रतिशत भाडा बृदि गर्ने, सम्झौतामा लिइएको जग्गा बृहस्पतीले अन्य सस्थालाई भाडामा दिन सक्ने लगायतका अन्य सम्झौताका बुदाहरु बृहस्पती बिद्यासदनलाई हित हुने खालका छन् । कानुनलाई लत्याउँदै बृहस्पती विद्यासदनले सरकारीजग्गामाथी लुट मच्चाउने गरि सम्झौँता गरेको छ । महंगो स्कुलका रुपमा गनिने बृहस्पती विध्यासदनले नेपाल बाल संगठनको जग्गा कौडिको भाउमा भाडामा लिएर वर्षौदेखि प्रयोग गर्दै आएको छ । २०५२ सालमा ३० बर्षका लागि नेपाल बाल संगठनको तत्कालिन कार्य समितीले लिजमा दिएको २९ रोपनी जग्गाको लिज सम्झौता २०८२ सालमा सकिने थियो । तर विभिन्न जालझेल गरेर फेरी केहीबर्ष अगाडि मात्रै बृहस्पती विद्यालयले ४३ बर्षकालागि सम्झौता थप गरेकोे पाइएको छ ।

नक्साल जस्तो स्थानमा २९ रोपनी जग्गाको भाडा जम्मा वार्षिक ९० लाख मात्रै तोकिएको छ । यहाँ चलनचल्तीको दरभाउ अनुसार सम्झौता गरेको भए मासिक नै करोडभन्दा बढी रकम संगठनलाई प्राप्त हुने देखिन्छ । आर्थिक संकटले गुज्रिरहेको बाल संगठनको जग्गामा भौतिक संरचना बनाए विद्यालय चलाएको बृहस्पतिले करोडौ कमाइरहेको छ । अहिले अख्तियारमा समेत मुद्धा परेर अनुसन्धानका क्रममा रहेको यो बद्नियतपूर्ण सम्झौता भने संगठनको अध्यक्षका रुपमा रिता सिंह वैध्य भएको समयमा गरेको पाइएको छ ।

बद्नियतपूर्ण सम्झौता गरेर सरकारी जग्गामाथी कब्जा जमाएको बृहस्पती स्कुलले नेपाल बाल संगठनका विपन्न २० जना विध्यार्थीलाई निशुल्क पढाउनुपर्ने सम्झौतालाई समेत लत्याएको छ । स्कुलले संगठनमा भएका आशक्त अनाथ बालबालिकालाई पढाउनु पर्ने ठाउँमा पहुँचको आधारमा सगठनको कोटामा अरु हुनेखानेहरुलाई पढाइरहेको छ । संगठनले यही मङ्सिर २३ गते आफ्ना २० जनाविद्यार्थीलाई पढाउन चिट्ठी पठाएपछि संगठनका पुर्व निमित्त निर्देशक देखिपुर्व कोसाध्यक्षका छोराछोरी पढाएको रहश्य खुलेको छ । यहाँ अहिले पढाइएका अधिकांश बालबालिकाहरु आशक्त अनाथ नभएर हुनेखाने परिवारका रहेको भएपनि स्कुल आफूहरुलाई सम्झौतामा सघाएका पदाधिकारिहरुको शिफरिसमा पढाइएकाहरुलाई हटाएर नयाँलाई पठाउन नसकिने निर्णय गराएर बद्नियत ढाकछोप गर्न खोजिरहेको छ ।

बृहस्पती विद्या सदनले भने यस बिषयमा परीपक्व निर्णय भएको दाबी गर्दै आएको छ । तर, अहिले आएको नयाँ कार्यसमितीले भाडाको बिषयमा पुनरावलोकन गर्न खोजे पनि बृहस्पतीले बाहानावाजीमा टार्दै आएको छ । बृहस्पती विद्या सदनका प्रिन्सिपल कुमार थापा यो बिषय २०७२ सालमा नै टुङ्गिएको दाबी गर्दै बद्नियतको दोषबाट उम्किन खोजिरहेका छन् । यो सम्झौतामा नेपाल बाल संगठनकी पुर्व अध्यक्ष रिता सिंह बैद्य लगायत पुर्व कार्यसमितिको नियत समेत खराब देखिएको छ ।

बिना प्रतिस्पर्धा लामो समयका लागि सस्तो दररेटमा जग्गा भाडामा दिएको यो समितिले अनाथ तथा बिपन्न विद्यार्थीको कोटामा पहुँचवाला हुनेखानेका छोराछोरिलाई पढाउन सिफारिस गरेकोले समेत मिलेमतोमै सरकारी जग्गामाथी कब्जा जमाइएको त थिएन भन्ने प्रश्न उब्जिएको छ । एउटा प्रतिष्ठित स्कुलले खुलमखुल्ला रुपमा सरकारी जग्गा अतिक्रमण गर्ने, कानुनसँग बाझिने गरी लामो समयको सम्झौता गर्ने अनि अनाथ असहायको नाममा हुनेखाने पहुँचवालाहरुकै छोछारोरी पढाउने जस्ता बद्नियत गरिरहेको सरकार र सरोकारवाला कहिलेसम्म टुलुटुलु हेरेर मात्रै बस्ने ? सरकारी जग्गालाई कौडिको भाउमा कब्जा गरेर लुट मच्चाउनेहरुमाथी राज्यले नियमन गर्दै कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बृहस्पती, #बृहस्पती विध्यासदन, #मारवडी सेवा समित

तपाईको कमेन्ट लेख्नुहोस्