Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

दुस्मन साथी ! जसले डेढ करोड कमिसन खान तीन साझेदारको हत्या गरे


काठमाडौं । मोरङमा दुई र ललितपुरमा एक गरी तीन जनाको हत्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको खुलेको छ । अपराध महाशाखा काठमाडौं र मोरङ प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा हत्याको कारण जग्गाको बैना वापत आउने कमिसन नै रहेको आरोपीले स्वीकार गरेका छन् । चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बैना गराएको थियो । जग्गा कसले कसलाई गराएको स्पष्ट नभएपनि ५० करोडको जग्गा बैना गराएवापत ३ प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्की भएको थियो । तर, कमिसनका विषयमा मोहन लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ अनिलकुमार मण्डलले पहिले लिम्बु र पछि अन्य दुई जनाको हत्या गराएका थिए ।

जग्गाको कमिसनको विषयमा कुरा नमिलेपछि मण्डलको समूहले मंसिर २८ गते मोहन लिम्बुलाई ललितपुरको धापाखेलमा बोलाएर हत्या गरेको थियो । उक्त हत्याकाण्डको पोल खुल्ने डरले पछि मण्डलको समूहले राजेन्द्र कुमार श्रेष्ठलाई पुषको ५ गते र शम्भु चौधरीलाई पुष ७ गते मोरङमा हत्या गरेका थिए । त्यसपछि शव वेपत्ता बनाउन लिम्बुको शव धापाखेलकै एक घरको कम्पाउन्ड र श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरमा रहेको उखुबारीमा खाल्डो खनेर गाडिएको थियो । छिटो शव गलाउनका लागि उनीहरुले सबै स्थानमा नुनको प्रयोग गरेका थिए । ब्यवसायीक साझेदारीमा कुरा नमिल्दा आफनै साथीको हत्या गर्न मण्डले तानाबुना बुनेका थिए ।

हत्याको आरोपमा मोरङ प्रहरीले तत्काल तीन जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । सिराहा नगरपालिका वडा नं २१ सिराहा घर भई बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, जहदा गाउँपालिका ४ सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दीनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुर बस्ने ६२ वर्षीय नासिर आलम छन् । हत्यामा अन्य केही नेपाली तथा भारतीय नागरिकको पनि संलग्नता रहेको र उनीहरु फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मण्डलले चारजना भारतीय नागरिकलाई २० लाख रुपैयाँ दिएर श्रेष्ठ र चौधरीको हत्या तथा शव व्यवस्थापन गर्न लगाएको प्रहरीले बताएको छ ।

माघ १३ र १४ गते धनपालथानमा राजेन्द्र श्रेष्ठ र शम्भु चौधरी तथा माघ २० गते मोहन लिम्बूको शव ललितपुरको गोदावरी नगरपालिका ठेचोमा गाडिएको अवस्थामा फेला परेको थियो । त्यस्तै, चार जना मिलेर जग्गा मात्रै होइन हाइड्रोपावर, सिमेन्ट उद्योगलगायतमा लगानी गरेको भेटिएको छ । ललितपुरको धापाखेलमा उत्खननपछि शव भेटिएका मोहनप्रसाद लिम्बु र हत्या आरोपी अनिल कुमार मण्डलबीच २ अर्ब ५० करोड रुपैयाँको करार सम्झौता भएको पाइएको छ । मण्डल र मृतक लिम्बुबीच हाइड्रो तथा सिमेन्ट उद्योगमा लगानी गर्ने भन्दै २ अर्ब ५० करोडको करारनामा बनेको थियो । यद्यपि उक्त करारनामामा औँठाछाप भने लगाइएको छैन । हत्या आरोपी अनिलकुमार मण्डल आफै प्रथम पक्ष रहेर बनाइएको करारनामामा सिमेन्ट उद्योग र हाइड्रो कम्पनीमा लगानी गर्नका लागि मण्डलले रकम दिने कुरा उल्लेख गरिएको छ ।

शम्भु चौधरी तुलसीपुर–घोराही फोरलेन सडकका नयाँ ठेकेदार हुन । १ अर्ब ३५ करोड लागतको उक्त ठेक्का शम्भु चौधरी लगायतका समूहले हालसालै मात्रै अर्का पेटी ठेकेदार अनुप पाण्डे लगायतको समूहबाट लिएका थिए । ठेक्का लिँदा शम्भुको समूहले पाण्डे समूहलाई करिब ५ करोड रुपैयाँ बुझाइसकेको बताइएको छ । शम्भुको समूहले तुलसीपुर–घोराही सडकखण्ड निर्माणका लागि बैंक ग्यारेन्टी राख्नका लागि जग्गाको समेत खोजी गरिरहेका थिए । त्यही क्रममा उनको हत्या भएको थियो । साथीमै लेनदेन र बढी कमिसन पाउने लोभमा हत्यासम्मको हत्कण्डा अपनाउदा तीनै जना प्रहरीको खोरमा जागिएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #५० करोडको जग्गा बैना, #अनिलकुमार मण्डल, #कमिसन

तपाईको कमेन्ट लेख्नुहोस्