नेपाल रेडक्रसबाट हटाइए विवादित संयोजक नेत्रप्रसाद तिम्सीना,नयाँ नेतृत्वमा सुर्दशन नेपाल
महामन्त्रीमा भूपतिलाल श्रेष्ठ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीलाई बैधानिकता दिन भन्दै नेतृत्वमा आएका डाक्टर नेत्रप्रसाद तिम्सिनालाई सरकारले हटाएको छ । तोकिएको समयसीमामा रेडक्रसलाई बैधानिकता दिन नसकेको भन्दै तदर्थ समितिका संयोजक तिम्सिनालाई सरकारले हटाएको हो । तत्कालिन केपी शर्मा ओलीले भागबण्डाकै आधारमा चयन गरेको तदर्थ समिति हटाएपनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि भागबण्डामै नयाँ कार्यसमिति बनाएको छ । नयाँ समितिको सभापतिमा सुर्दशन नेपाल चयन भएका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीका नेपाली कांग्रेसको कोटाबाट रेडक्रसको सभापति बनेका हुन ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट महामन्त्रीमा भूपतिलाल श्रेष्ठलाई तोकिएको छ । श्रेष्ठ तेह्थुमका हुन् । कोषाध्यक्ष नेकपा माअोवादी केन्द्रको भागमा परेको छ । कृष्णगोपाल लागेजु कोषाध्यक्षमा मनोनित भएका छन् । उपाध्यक्ष नुवाकोटका विष्णु नेपाल र अर्घाखाँचीकी राधा नेपालीलाई बनाइएको छ । नेपाल कांग्रेस र नेपाली माओवादी कोटाबाट आएका हुन् । उप कोषाध्यक्ष भगवनी शर्मा तथा सदस्यहरुमा विनोद बस्नेत, मनोज थापा लगायत २९ सदस्यीय समिति बनाइएको छ ।
कार्यसमितिमा कांग्रेस, माअोवादी केन्द्र, नेकपाएस, जनता समाजवादी पार्टीलाई भाग परेको छ । तत्कालिन सरकारले रेडक्रस सोइसाटी चरम भ्रष्टाचारमा फसेपछि २०७७ साउन १२ गते संजिव थापाको अध्यक्षतामा रहेको समिति विघटन गरेर तिमल्सीनाको अध्यक्षता नयाँ समिति बनाएको थियो। सरकारलाई जानकारी नदिई १६ अर्ब रुपैयाँ विदेशी सहायता लिएको, भक्तपुरमा जग्गा खरिदमा अनियमतता गरेको, रेडक्रसको केन्द्रीय कार्यालय, शाखा र उपशाखाको चल–अचल सम्पत्तिको दोहन गरी अनियमितता गरेको, समाज कल्याण र जिल्ला प्रशासनको निर्देशन पालना नगरेको, विधान तथा कानुन विपरीत काम गरेको, पदाधिकारीले आफ्नो पारिश्रमिक लिएको आरोपमा थापाका सभापति भएको कार्यसमिति विघटन गरिएको थियो ।
थापाले लामो समय रेडक्रसमा एकछत्र राज गरेका थिए । थापालाई हटाएर तत्कालिन विपक्षी दल नेपाली कांग्रेसका १४ र तत्कालिन नेकपाका १९ राखेर ३३ सदस्यीय कार्यसमिति बनाइएको थियो । तर, पटक–पटक म्याद थपेपनि संयोजक तिम्सिनाले रेडक्रसलाई बैधानिकता दिनुभन्दा पनि झनै विवादित बनाएका थिए । बिद्यान महाधिबेशन गर्न भन्दै पटक–पटक मिति तोक्ने र स्थगित गर्ने काम समेत तदर्थ समितिले गरेको थियो । विगतमा भएको अनियमितताको छानविन र कार्यसमितिलाई बैधानिकता दिनुपर्ने काम छाडेर तिम्सिना नेतृत्वको कार्यसमिति कमाउ धन्दामा लागेको आरोप रेडक्रसकर्मीले नै लगाउदै आएका छन् । भागबण्डामा आएको नयाँ कार्यसमितिले रेडक्रसलाई बैधानिकता दिनेदेखि रेडक्रसको छवि सुधार गर्ने अपेक्षा रेडक्रसकर्मीले गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #डाक्टर नेत्रप्रसाद तिम्सिना, #सुर्दशन नेपाल
तपाईको कमेन्ट लेख्नुहोस्