Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

कांग्रेसमा देउवा,कोइराला,सिंह र निधिमा को बलियो ? यस्तो छ उमेद्वारको जित्ने आधार

गगन थापा र विश्वप्रकाश शर्माको चर्चा बढी


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट आगामी चार वर्षे नेतृत्व हत्याउन पाँच नेता कम्मर कसेर दौडधुपमा छन् । अबको कांग्रेसमा सभापति, उपसभापतिदेखि महामन्त्रीसम्मको समिकरण कस्तो बन्ला भन्ने चासो सर्वत्र छ । किनकि भविष्यमा कांग्रेसको नेतृत्व नेताहरु नै अहिले ती पदमा मुख्य प्रतिष्पर्धी छन् । चुनावी प्रचार–प्रसारलाई तीब्र हुँदै जाँदा कुन नेता कति बलिया छन् त ? भन्ने चासो पनि बढेको छ । अबको ४ वर्ष नेपाली कांग्रेसको पकडमा कसको हातमा जाला भन्ने कौतुहता बढ्दो छ । वर्तमान सभापति शेरबहादुर देउवा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ लिएर चुनावी मैदानमा उत्रिएका छन् । उनले फेरि सभापतिको दाबेदारीलाई बलियो बनाउन उपसभापतिमा बिजय गच्छदार र पूर्णबहादुर खड्कालाई साथमा लिएका छन् ।

अहिलेसम्मको अंकगणित हेर्दा देउवा अन्य नेताभन्दा बलिया देखिन्छन् । गच्छदार कांग्रेसमा फिर्ता भएपछि उनका प्रतिनिधिको पनि साथ पाउने देउवाको विश्वास छ । प्रदेश निर्वाचनमा पनि बलिया देखिएका देउवालाई पहिलो चरणमै चुनाव जित्न भने केही सकस भने पर्ने देखिन्छ । देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडललाई अघि सारेका छन् । महामन्त्रीका आकांक्षी धेरै भएपछि सिटौलाको दबाबमा देउवाले पौडेललाई बाध्यताबस महामन्त्रीको उम्मेदवार बनाउनु परेको छ । पौडेललाई रोज्दा उनको समूहबाट अर्का प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माको बिदाइ भएको । पौडेललाई रोज्दा देउवा खेमाका अन्य नेतामा समेत असन्तुष्टि देखिएको छ ।

हुनत महेन्द्रनारायण निधिका छोरा बिमलेन्द्र निधि विगतमा देउवाकै विश्वास पात्र थिए । निधिले पनि सभापतिमा उमेद्वार दिएका छन् । उनले उपसभापतिमा दिब्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीलाई आफनो प्यानलमा राखेका छन् । तर, निधिले आफनो बलियो प्यानल बनाउन सकेका छैनन् । देउवाको केही मत निधिले काट्ने पक्का छ । तर, अन्य पदमा कसलाई समर्थन गर्ने भन्ने निधिले खुलाएका छैनन् । अर्का सभापतिका उमेद्वार हुन्, डा. शेखर कोइराला । कोइरालालाई कांग्रेसको अकौृ बलियो गुट रामचन्द्र पौडेलको खेमाको उमेद्वारका रुपमा अघि सारिएको छ ।

अहिलेसम्म कांग्रेसको पदाधिकारीको कुनै पदमा नरहेका कोइराला पहिलो पटक नै सभापतिको दाबेदार बनेका छन् । तर, उनको प्यानल भविष्यमा कांग्रेस हाँक्न सक्ने क्षमता भएका नेताहरुले भरिभराउ छ । उपसभापतिमा चन्द्र भण्डारी, धनराज गुरुङलाई कोइरालाले आफनो प्यानलमा राखेका छन् । महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापालाई साथमा लिएका कारण कोइरालालाई देउवासँग टक्कर दिने बलियो आधार मिलेको छ । किनकि पछिल्लो समय कांग्रेसले संसदमा रिजाल र थापाकै कारण साख जोगाएको देखिन्छ । देउवा र कोइरालाबीच कडा टक्कर हुने देखिएपनि पहिले आफनै समूहमा रहेका गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह उनको प्रतिस्पर्धी बनेका छन् । यसले पहिलो चरणमा नै उनको जितलाई असम्भव जस्तै बनाएको छ ।

सिंहले उपसभापतिमा सुजाता कोइराला र अन्तिम समयमा महामन्त्रीमा विश्वप्रकाश शर्मालाई प्यानलमा समेटेपछि यो प्यानल पनि बलियो देखिएको छ । महाधिबेशनमा अन्य पदाधिकारीमा प्यानल बनाउन नसक्दा सिंहले अन्य पदमा भने कोइरालाको प्यानललाई समर्थन गर्ने सम्भावना छ । कांग्रेसले पहिलो चरणमै सभापति पाउनेमा स्वय्म उमेद्वार नै ढुक्क छैनन् । त्यसैले पनि उनीहरुको ध्यान भनेकै पहिलो र दोस्रोमा कसरी पर्ने भन्ने देखिन्छ । सबैभन्दा बढी दुई महामन्त्रीका लागि हुन लागेको प्रतिष्पर्धामा ६ जना दाबेदार छन् । अझ विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल, मिनेन्द्र रिजाल र डाक्टर प्रकाशशरण महतको भिडन्तले कांग्रेस महाधिबेशनलाई निक्कै रोचक बनाइरहेको छ । किनकि यी नेता कांग्रेसभित्रका बलिया र चर्चित पात्र हुन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चुनावी प्रचार–प्रसार, #नेपाली कांग्रेसको १४ औं महाधिबेशन

तपाईको कमेन्ट लेख्नुहोस्