Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट,अध्यक्षको दुई वटा दाँत भाँचियो


काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । कार्यपालिका बैठकमै कुटाकुट हुँदा अध्यक्ष मण्डलका दुई वटा दाँत नै भाँचिएका छन् । किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच कुटाकुट भएको हो ।

गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले दाबी गरेकी छन् । उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन् । छिन्नमस्ता गाउँपालिकामा पछिल्लो २ आर्थिक वर्षदेखि गाउँसभा हुन नसक्दा विकास निर्माणका काम पनि ठप्प छन् । कर्मचारीले समेत महिनौंदेखि तलब खान पाएका छैनन् ।

एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको थियो । तर, अध्यक्ष र उपाध्यक्षबीच बजेट वितरणलाई लिएर सार्वजनिक रुपमै विवाद हुँदै आएको छ । उक्त गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् । तर उनीहरू अहिले दुवै हाल दुई अलग पार्टीमा पुगेका छन् । अहिले अध्यक्ष जसपामा छन् भने उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टीमा छिन् ।


क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कुटाकुट

तपाईको कमेन्ट लेख्नुहोस्