८३ रुपैयाँमा किनेको पेट्रोल १३६ मा बेच्दै आयल निगम,कपडा धुने साबुनदेखि घर रंगाउन समेत भत्ता
कर्मचारीलाई मासिक ४,३७५ यातायात भत्ता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्ताबाट मनोमानी कर असुल्दै १ सय ३६ रुपैयाँमा बिक्री गरिरहेको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट नोभेम्बर १ मा ८२.२१ रुपैयाँमा खरिद गरेको डिजेललाई सर्वसाधरणले १ सय १९ रुपैयाँमा खरिद गुर्नपर्यो । आयल निगमले भने पेट्रोलमै प्रतिलिटर साढे १७ रुपैयाँ घाटा भइरहेको दाबी गरेको छ । कच्चा तेलको मूल्य र डलरका कारण निगम थेग्नै नसक्ने अवस्थामा पुग्दा मूल्य समायोजन नहुँदा निगमसँगै समग्र अर्थतन्त्र नै धराशायी हुने भन्दै निगम मूल्य बढाउनुको बिकल्प नभएको बताइरहेको छ ।
पछिल्लो समय डलर र कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीबाटै महँगोमा इन्धन आउने हुनाले त्यसअनुसार मूल्य बढाउनु बाध्यता रहेको निगम बताउछ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहँदा यहाँ कर घटाएर उपभोक्तालाई केही राहत दिन सकिने भए पनि सरकारले चासो नदिदा सर्बसाधारण चर्को मुल्य तिर्न बाध्य छन् । आईओसीबाट खरिद गरिएको पेट्रोलमा प्रतिलिटर ५७.७३ रुपैयाँ कर जोडिन्छ । त्यसबाहेक निगमको खर्चस्वरूप २ रुपैयाँ, ढुवानी भाडा ५ रुपैयाँ र पेट्रोलियम बिक्रेता मुनाफा ५.३२ रुपैयाँ जोडिन्छ । यस्तै, डिजेलमा ४०.४१ रुपैयाँ कर, निगमको खर्च १.५९ रुपैयाँ, ढुवानी भाडा ३.७७ रुपैयाँ, पेट्रोलियम बिक्रेता मुनाफास्वरूप ४.१७ रुपैयाँ जोडिन्छ । यी सबै जोडर बिक्री गर्दा उपभोक्ता मूल्य उच्च हुन्छ ।
अझ आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा असोज ८ गते बसेको निगम सञ्चालक समितिको २२७९औँ बैठकले कर्मचारीलाई कार्यालय हाजिर भएको दिन गणना हुने गरी दैनिक एक सय ७५ रुपैयाँका दरले ‘यातायात भत्ता’ दिने निर्णय भयो । १ कात्तिकबाट भत्ता वितरण सुरु भइसकेको छ । निगममा अहिले करिब ६ सय स्थायी कर्मचारी छन् । तीमध्ये करिब सयजनाले मात्रै कार्यालयको सवारीसाधन प्रयोग गर्दै आएका छन् । बाँकी पाँँच सय कर्मचारीले यातायात भत्ता पाउने निगमको भनाइ छ । दैनिक एक सय ७५ रुपैयाँका दरले एउटा कर्मचारीले मासिक चार हजार तीन सय ७५ रुपैयाँ (बिदा कटाएर महिनामा २५ दिन गणना गर्दा( यातायात खर्चबापत भत्ता बुझ्छन् । यस हिसाबले नयाँ शीर्षकको भत्तामा मात्रै निगमलाई मासिक २१ लाख ८७ हजार रुपैयाँ व्ययभार थपिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा साउनदेखि कात्तिकसम्मको चार महिनामा मात्रै १० अर्ब २१ करोड घाटा बेहोरेको निगमको जिकिर छ । निगम कर्मचारीले लुगा धुने भत्ता शीर्षकमा दैनिक १५ रुपैयाँ बुझ्छन् । यस्तो भत्ता अन्य कुनै संस्थानका कर्मचारीलाई छैन । त्यस्तै, पेट्रोलियम जोखिम भत्ता शीर्षकमा निगमले कर्मचारीलाई मासिक चार हजार पाँच सय दिइरहेको छ । यो भत्ता लिनुअघि कर्मचारीले ‘मट्टीतेल भत्ता’ शीर्षकमा मासिक ६० लिटर मट्टीतेल पाउने गरेका थिए । निगम कर्मचारीले घरमा रंगरोगन गर्नका लागि समेत वर्षमा एकपटक चार हजार दुई सयदेखि ६ हजार रुपैयाँसम्म भत्ता पाउँछन् । त्यस्तै, खाजा खर्चबापत निगमका कर्मचारीले दैनिक सय रुपैयाँ भत्ता बुझ्छन् । यो भत्ता कार्यालयमा हाजिर भएको दिनका आधारमा गणना गरेर मासिक एकमुस्ट प्रदान गरिन्छ ।
महँगी भत्ता मासिक दुई हजार र चाडपर्व खर्च वर्षमा एकपटक एक महिनाको तलबबराबर बुझ्छन् । निगम कर्मचारीले बिरामी नै नभए पनि वर्षमा एकपटक औषधि उपचार खर्चबापत पनि भत्ता लिन्छन् । अधिकृतस्तरका कर्मचारीले एक महिनाको तलबबराबर, सहायकस्तरका कर्मचारीले डेढ महिनाको तलबबराबर र टेक्निसियन तथा हेल्परले दुई महिनाको तलबबराबर हुन आउने रकम औषधि उपचार खर्चबापत पाउँछन् । कर्मचारीले विदेशमा गएर उपचार गरेको बिल–भर्पाई पेस गरेको खण्डमा थप पाँच लाख रुपैयाँसम्म उपचार खर्च दिने गरिन्छ । निजामती कर्मचारीले वर्षमा एकपटक (चैत) पोसाक भत्ताबापत १० हजार रुपैयाँ पाउँछन् । तर, निगमका कर्मचारीले वर्षमा दुईपटक पोसाक भत्ता बुझ्ने गरेका छन् । चैतमा १० हजार र असोजमा १५ हजार पोसाक भत्ताबापत कर्मचारीले रकम पाउँदै आएका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल आयल निगम
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्