Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

चार पूर्वप्रधान्यायाधीशले पनि मागे चोलेन्द्र शमशेर जबराको राजीनामा


काठमाडौं । चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार अपरान्ह विज्ञप्ति निकालेर जबरालाई बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन् । नेपालको न्यायपालिकाको इतिहासमा नै अभूतपूर्व चिन्ताजनक वातावरण देखिएको भन्दै उनीहरुले यो परिस्थितिको अविलम्ब पटाक्षेप हुनुपर्ने बताएका छन् ।

अहिले न्यायालयमा देखिएका समस्याको सिर्जना प्रधानन्यायाधीशले नै गरेको भन्दै चार पूर्वप्रधानन्यायाधीशले यसको जवाफदेहीता प्रधानन्यायाधीश स्वयंले ग्रहण गनुपर्ने बताएका छन् । ‘न्यायपालिकाको समक्ष उपस्थित चुनौतीहरुको माझमा न्यायपालिकाको स्वार्थलाई आफ्नो स्वार्थ भन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउन सम्बन्धित न्यायिक नेतृत्वलाई आह्वान गर्दछौं’ चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशको स्वनिर्णयले न्यायपालिकाको क्षति न्यूनिकरण गर्न सघाउन सकिन्छ भन्ने विश्वास पनि व्यक्त गरेका छन् ।

न्यायपालिकाले आफूभित्र देखा परेका समस्या आफ्नै सुझबुझ र विवेकबाट समाधान नगरेमा विधायिकी क्षेत्रबाट हस्तक्षेप हुने पनि उनीहरुले बताए । प्रधानन्यायाधीशको कार्य सम्पादनस्तर, व्यवहार र चरित्रबारे सार्वजनिकस्तरमा भएका शंका र चिन्ताका कारण न्यायपालिकाको विश्वसनीयता र यसप्रतिको जनआस्था हल्लिएको चार पूर्वप्रधानन्यायाधीशले बताए । ‘‘न्यायपालिका जस्तो संवेदनशील संस्थाको लागि आफ्नै नेतृत्वकर्ताको आलोचित काम, कारवाही र व्यवहारको कारण न्यायपालिकाप्रतिको भरोसा उठ्न गयो भने न्यायपालिकाको लागि त यो घातक हुन्छ नै, स्वयं देशका संवैधानिक पद्धति र लोकतन्त्रको लागि पनि घातक अवस्था हुन जान्छ’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो बेचैनीपूर्ण र असह्य स्थिति जति लामो हुन्छ त्यति नै धेरै न्यायपालिकाको विश्वसनीयता र स्वीकार्यतामा आँच आउने भन्दै पूर्वप्रधानन्यायाधीशहरुले यो समस्या समयमा नै सम्बोधन भएन भने पछि गएर अपुरणीय न्यायिक क्षतिमा रुपान्तरण हुने बताएका छन् । ‘यस कुरालाई हृदयंगम गरी वर्तमान न्यायिक नेतृत्वले आफ्नो विश्वसनीयता र ग्राह्यता पुष्टी गर्न पहलकदमी लिएको हालसम्म देखिन नआउनु चिन्तालाग्दो स्थिति हो भन्ने लाग्दछ’ उनीहरुले भनेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जबराको राजीनामा, #पूर्व प्रधानन्यायाधीशहरु

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं