एमालेमा ओली–नेपालको जुहारी, नयाँ पार्टी गठन गर्ने माधव नेपालको घोषणा
बानी सुध्रिए चुनावमा तालमेल गर्न सकिने उद्घोष

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी शर्मा ओलीका कारण एकताको सम्भावना सकिएको घोषणा गरेका छन् । अखिल फोर्सको भेलालाई जुम मिटिङ्ग मार्फत सम्बोधन गर्दै बरिष्ठ नेता माधव कुमार नेपालले ओलीकै कारण नेकपा एमाले फुटको संघारमा पुगेको बताए । उनले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको स्पष्ट पारे । उनले आफूहरुले नयाँ पार्टी बनाएको अवस्थामा पनि ओली सच्चिएर आए एकताका लागि तयार रहने बताएका हुन् ।
नेपालले कार्यकर्ताहरुलाई संगठन बिस्तार गर्न समेत निर्देशन दिदै ओली अहंकारको घोडामा सवार भए आफूलाई सर्वाधिकार सम्पन्न भएको ठान्दा समस्या आएको बताए । ओली एउटा सानो गुटको नेतामा मात्रै सीमित भएको नेपालको आरोप छ । प्रधानमन्त्री बनेपछि ओलीमा झनझन दम्भ बढेको उनको टिप्पणी थियो । उनले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए ।
नेपालले पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिने स्पष्ट पारेका छन् । नेपालले ओलीले पार्टीमा एकाधिकार लाद्न खोज्नुले समस्या आएको बताए ।
त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश नेपाली कांग्रेसका लागि महँगो पर्ने चेतावनी दिएका छन् । एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् । गठबन्धनले ऐतिहासिक भनेको सर्वोच्च अदालतको फैसलाको समेत अध्यादेशले अवहेलना गर्ने उनले बताए । गलत मनाशाय र उद्देश्य राखेर ल्याइएको अध्यादेश तत्काल फिर्ता लिएर तीन दिनभित्र संसद अधिवेशन बोलाउन सरकारलाई अध्यक्ष ओलीले चेतावनी समेत दिए ।
पार्टी एकताका लागि आफुले अधिकतम लचकता अपनाएपनि अर्को पक्षले एक पछि अर्को अडान लिएका कारण समस्या भएको उनले जिकिर गरे । अध्यक्ष ओलीले अहिलेको गठबन्धन नामको सरकार असंवैधानिक, गैरकानूनी, जनादेश बिपरितको र अपराधीक उदेश्यका साथको सरकार भएको आरोप लगाए । संसद अधिवेशन रोकेर १२ घण्टा नवित्दै कालो र षडयन्त्रपूर्वक दल बिभाजको अध्यादेश सरकारले ल्याएको भन्दै उनले आक्रोश पोखे । त्यस्तै बैठकले अफगानस्थानमा रहेका नेपालीहरुका सहज उद्धारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमालेमा ओली–नेपालको जुहारी
तपाईको कमेन्ट लेख्नुहोस्