Techie IT
  • १९ भदौ २०८२, बिहीबार

काठमाडौंमा डेरावालाको गुनासै-गुनासा, महानगरको न्यायिक समितिमा उजुरीको चाङ

असार २० गतेसम्म समितिमा २ सय ८३ वटा उजुरी


काठमाडौं । उपत्यका बाहिरबाट राजधानी भित्रनेहरुलाई पहिलो चिन्ता हुन्छ डेराभाडा । कतै घरबेटी राम्रो नपाइनु कतै कोठा राम्रो नपाइने समस्याले धेरैलाई सताइरहेको हुनछ । त्यति भएर पनि होला काठमाडौं महानगरको न्यायिक समितिमा सबैभन्दा धेरै डेराभाडाका उजुरी परेका छन् । अघिल्ला वर्षमा घरेलु मुद्दाको उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय घरकोठा खाली गराउने विषयमा उजुरी पर्ने गरेको खुलेको छ । कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेको र केहीले अनेक समस्याका कारण कोठामा सामग्री राख्ने ढोका लगाएर लामो समयसम्म सम्पर्कमा नआउने समस्या बढेको छ । घरधनीले घर भाडा पनि नपाउने र कोठा खाली पनि नहुने हुँदा खाली गर्नका लागि उजुरी बढी पर्ने गरेको महानगरले जनाएको छ ।

२०७८ साल असार २० गतेसम्म समितिमा २ सय ८३ वटा उजुरी परेको थियो । यीमध्ये १ सय २८ वटा आव ०७६/०७७ बाट दायित्व सरेर आएको हो भने १ सय ५५ वटा आव ०७७ /०७८ मा दर्ता भएका हुन् । जम्मा उजुरीमध्ये १०६ वटा उजुरी फर्छ्यौट भइसकेका छन् । एक सय ४७ वटा विचाराधीन छन् । १२ वटा कार्यान्वयन भएका छन् भने नौ मेलमिलापका माध्यमबाट टुङ्गिएका छन् । विचाराधीन अवस्थामा रहेका १ सय ४७ मुद्दा पनि सक्दो छिटो किनारा लगाउने तयारीमा कामपा रहेको न्यायिक समितिका सदस्य सरोज ढकालले जानकारी दिएका छन् । एउटा मुद्दा फैसला गर्न ९० दिनको समय हुन्छ, कोरोनाका कारण धेरै मुद्दा किनारा लगाउन बाँकी रहेको भन्दै तिनलाई पनि सक्दो छिटो फर्छ्यौट गर्न समिति सक्रिय भएको महानगरले जनाएको छ ।

त्यसैगरी अन्य दर्ता हुने उजुरीमा बाटो खुलाइ पाऊँ, बहाल रकम फिर्ता गराइदिने सम्बन्धमा, जग्गा खाली गराइदिने, सार्वजनिक बाटो खोलिदिनेबारे तथा बाटो विस्तार रोक्ने विषयमा बढी उजुरी पर्ने गरेका छन् । समितिमा घर निर्माण रोक्का, बाटो खुलाइ पाउन, क्षतिपूर्ति पाउन, बहाल रकम दिलाइ पाउन, इज्जत अनुसार खान लाउन सहयोग गरी पाउन, मेलमिलाप गराइ पाउन, माना चामल भराउन, मेलम्ची धाराका लागि बाटोको विवाद मिलाउन तथा टहरा खाली गराइ पाउन जस्ता विषयमा उजुरी पर्ने गरेका छन् ।

यसैगरी बहाल बुझाइ मालसामान फिर्ता पाउन, अन्तरिम संरक्षणात्मक आदेश दिलाइ पाउन, पालन पोषण र स्याहार सुसार गराइ पाउन, घर भाडा सम्झौता गराइ पाउन, ध्वनी प्रदूषण रोकी पाउन, घर बहाल रोक्का गरिपाउन, सम्पत्ति संरक्षण गरी पाउनजस्ता विषयमा उजुरी परेका छन । नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिसम्बन्धी व्यवस्था गरिएको छ । समितिको कार्यसम्बन्धी व्यवस्था, कर्तव्य र क्षेत्राधिकार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ मा व्यवस्था छ । यसै व्यवस्थाबमोजिम कामपामा गठन भएको न्यायिक समितिले २०७४ कात्तिक २८ गते पहिलो बैठक बसेर काम थालनी गरेको थियो ।

पहिलो इजलास भने २०७४ साल मङ्सिर १० गते सञ्चालन गरिएको थियो । समितिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्याय सम्पादनका प्रक्रिया सञ्चालन गर्छ । त्यस्तै न्याय सम्पादन गर्दा कानुनका सर्वमान्य सिद्धान्त, नजिरको सिद्धान्तका साथै प्रचलित ऐन कानुनको मूल्य मान्यताबमोजिम न्याय सम्पादन गर्छ ।

न्यायिक समितिका अतिरिक्त भवन निर्माणको मापदण्डका विषय प्रमुखको इजलासबाट हेरिन्छ भने भवन निर्माण इजाजतसम्बन्धी विषय प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट हेरिन्छ । कर्मचारीको अभाव र कोरोना महामारीका कारण देखाउँदै कामपाले हुनुपर्ने जति मुद्दाको समयमै किनारा लगाउन नसकेको भनिरहँदा सर्वसाधारणले भने मुद्दाको फछ्र्यौट छिटो गरिदिन आग्रह गर्दै आएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौंमा डेरावाला, #डेरावालाको गुनासै-गुनासा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं