Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

कस्तो छ कर्णाली प्रदेशका मुख्यमन्त्री शाही हटाउने अंकगणित


काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद प्रदेशसम्म पुगेको छ । राजधानीमा मन्त्री र मुख्यमन्त्री फेरबदलको चर्चा चल्दै गर्दा कर्णाली प्रदेशको नेकपामा भाँडैभैलो नै सुरु भएको छ । आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकार ढाल्न नेताहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । नेकपा कर्णाली प्रदेश सहइन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलसहित १८ सांसदले संसदीय दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेशमा पनि सरकार ढाल्ने खेल सुरु भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री शाही र केपी ओलीनिकट नेता कँडेलबीच बारम्बार तिक्तता भइरहेको थियो । दुबैबीच अन्तरविरोध झाँगिँदै गएर अविश्वासको प्रस्ताव दर्ता गर्ने तहमा कँडेल पुगेका हुन् । सुरुमा मुख्यमन्त्रीको दौडमा रहेका कँडेल पार्टीको एकता प्रक्रिया टुंग्याउन माथिल्लो तहको दवावपछि मात्रै पछि हटेका थिए । उनी सुरुदेखि नै मुख्यमन्त्री हटाउने अभियानमा लागेको थिए ।

सात प्रदेशमध्ये सांसद् संख्यामा सानो कर्णाली प्रदेशमा ४० सांसद छन् । त्यसमध्ये ११ जना सांसद कँडेलनिकट छन । मुख्यमन्त्रीसँग १२ सांसद छन । माधव नेपालनिकट नेता प्रकाश ज्वाला, जो प्रदेशको आन्तरिक मामिला तथा योजनामन्त्री पनि हुन्, उनीसँग आठ सांसद् छन् । अहिले कँडेलका ११ मध्ये ८ जना, पूर्वमाओवादी केन्द्रनिकट ३ जना र ज्वाला पक्षधर ७ जना सांसदहरू मुख्यमन्त्री हटाउने योजना सहित दलमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । हस्ताक्षर गर्ने पूर्वमाओवादी केन्द्रका सांसदहरूमा उपसभामुख पुष्पा घर्ती बिष्ट, सुर्खेतका अमरबहादुर विष्ट, दैलेका धर्मराज रेग्मी छन् । पूर्वएमालेका दुवै गुट, ओली नेपालका सांसदहरूले निरन्तर असहयोग गरेपछि महेन्द्र शाहीले बजेटसम्म पारित गराउनै हम्मेहम्मे परेको थियो । शाही नसुध्रिएको, बजेट, योजना अपचलन गरेको, पूर्वएमालेलाई बेवास्ता गरेको, एकताको भावना आत्मसात् नगरेको लगायत दर्जन आरोप लगाएर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

हस्ताक्षर गर्नेहरुमा चन्द्रबहादुर शाही (मुगु) करवीर शाही (जाजरकोट) कुर्मराज शाही (कालिकोट) अम्मरबहादुर थापा (दैलेख) सुशीलकुमार थापा (दैलेख) मीनासिंह रखाल (दैलेख) दानसिंह परियार (मुगु) पद्म रोकाय (जुम्ला) पद्मा खड्का (सुर्खेत) कौशिलावती खत्री (जाजरकोट) पुष्पा धर्तीमगर विष्ट (सुर्खेत) राजु नेपाली (सुर्खेत) धर्मराज रेग्मी (दैलेख) खड्कबहादुर खत्री (सुर्खेत) ठम्मर विष्ट (सुर्खेत) बद्मीक्वारी बोहोरा (डोल्पा) देवी ओली (रुकुम पश्चिम) रहेका छन् ।

प्रदेश संसदीय दलबाट अविश्वासको प्रस्ताव पारित भएमा प्रदेशसभामा दर्ता हुनेछ । जहाँ मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावको सामना गर्नुपर्नेछ । प्रदेश सभामा ४० जना सांसद छन्। जसमध्ये नेकपाका ३३, काँग्रेसका ६ र एक जना राप्रपाका सांसद छन् ।


क्याटेगोरी : जनप्रतिनिधि, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं