Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

६ महिनापछि बिहिबारबाट हुँदैछ नयाँ बसपार्कमा चहल–पहल


काठमाडौं । कोरोनाका कारण चैत्र ११ गतेदेखिको निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण यातायातका साधनहरु ग्यारेजमा थन्किन बाध्य भए । लकडाउन भएयता करीव ६ महिनादेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन आउन सकेका छैनन् । जसले गर्दा हजारौ सवारी साधनहरु बिग्रिएर मर्मत गर्नु पर्ने अवस्थामा पुगेका छन् भने कतिपय चलाउनै नमिल्ने अवस्थाका समेत भईसकेका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय छ ।

यातायात व्यवसायीहरु आफूहरु धेरै नै मर्कामा परेकोले अब चुप लागेर नबस्ने भन्दै असोज १ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेपछि सरकारले बाध्य भएर असोज १ गतेदेखि सञ्चालन गर्न दिने भएको हो । सार्वजनिक यातायातका साधनहरुलाई सुरक्षित र सुनिश्चित गर्न मापदण्ड तथा निर्देशिका जारी गरी सञ्चालनको बृहत् खाका तयार भईसकेकाले अब हामी बिश्वकर्मा पूजा अर्थात असोज १ गतेदेखि नै सवारी साधन चल्ने भएपछि नयाँ बसपार्कमा तयारी थालिएको छ । कोरोनाको महामारीको संख्या दिनानुदिन बढ्दै गएको अवस्थामा लामो दुरीको यातायात सञ्चालनमा ल्याउँदा चुनौती र जोखिम भने निकै बढेर जाने यातायातविज्ञ आशिष गजुरेलको तर्क छ । यातायात एक ठाउँबाट अर्को ठाउँमा जाँदा ब्यक्तिको स्वास्थ्यमा धेरै समस्या हुने र संक्रमण पनि तिब्र रुपमा फैलने खतरा रहेको गजुरेलले बताए । उनले सवारी साधनभित्र मानिसको चापले पनि जोखिम बढ्ने बताएका छन् ।

नेपालमा सार्वजनिक यातायातको क्षेत्रमा करिब १० खर्बको लगानी रहेको छ र जस मध्ये करिब ७ खर्ब बैंक, र बित्तीय संस्थाको छ भने बाँकी ३ खर्ब ब्यवसायीको रहेको छ । लकडाउनको कारण सवारी साधन नचल्दा सार्वजनिक यातायात क्षेत्रले दैनिक ७६ करोड ५० लाख रुपैयाँ गुमाईरहेको तथ्यांक राष्ट्रिय यातायात ब्यवसायी महासंघसँग रहेको छ ।

कोरोना कहर समाप्त भई अवस्था सामान्य बन्न लामो समय लाग्न सक्ने आकलन भएकाले लामो समय यात्रुवाहक सवारी साधन निर्धक्क चल्ने अवस्था हुने छैन। अनुगमनलाई प्रभावकारी बनाउनको लागि हरेक सवारी साधनमा सिसिक्यामेरा, जिपिएस लगायत प्रविधिको प्रयोग गर्नुपर्ने माग ब्यवसायीले राखेका छन् । तर, यसरी लाग्ने खर्च भने सरकारले ब्यवहोर्नु पर्ने उनिहरुको तर्क छ । बिहिबारदेखि सुरु हुने लामो दुरीका यातायातमा सावधानि अपनाइएन भने पक्कै पनि कोरोना झनै गाउँ–गाउँ पुग्ने देखिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नयाँ बसपार्कमा चहल–पहल, #लकडाउन र निषेधाज्ञा


तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं