प्रधानमन्त्री ओलीलाई राम मन्दिरकै चिन्ता

काठमाडौं । भानुजयन्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै आयोजित कार्यक्रममा रामको वास्तविक जन्मभूमि चितवनको ठोरी भएको दाबी गरे । त्यसको चौतर्फी आलोचना मात्रै भएन परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको बिचार ब्यक्तीगत भएको भन्दै बिज्ञप्ती नै जारी गर्यो । तर, देश कोरोनाको कहर, बाढीपहिरोले घरवास बिहिन भएको मुद्धा छोडेर ठोरीमा रामको मन्दिर बनाउन प्रधानमन्त्री ओली निर्देशन दिइरहेका छन् । प्रधानमन्त्री ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन शनिबार स्थानीय जनप्रतिनिधिलाई बालुवाटारमै बोलाएर निर्देशन दिए ।
कोरोनाको जोखिम बढीरहेका बेला प्रधानमन्त्रीको अकस्मात आमन्त्रणपछि मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वमा एउटा टोली बालुवाटार पुग्यो । त्यो पनि चितवनको माडी नगरपालिका ठोरीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि निर्देशन दिन । जनप्रतिनिधिलाई चेपाङका घरको चिन्ता भएपनि प्रधानमन्त्री ओलीलाई भने राम मन्दिरकै चिन्ता थियो । दुई घण्टाको छलफलमा प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन निर्देशन दिएका थिए ।
माडी नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्न समेत प्रधानमन्त्री ओलीले सुझाव दिए । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अयोध्यापरीमा राममन्दिरको उद्घाटन गरेका थिए । यता प्रधानमन्त्री ओलीले पनि आउँदो रामनवमीमा नै उद्घाटन गर्न मिल्ने गरी केही भौतिक काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आउँदो दसैँमा कम्तीमा पनि रामको जन्मभूमिको झल्को हुने गरी मूर्ति अनावरण गर्ने, राम–लक्ष्मण वा सीताको प्रतिमा बनाउने र कुनै मेला, महोत्सव वा जात्रा आयोजना गर्न भनेका छन् । भानुजयन्तीमा प्रधानमन्त्री ओलीले बालुवाटारमै रामको वास्तविक जन्मभूमि वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ भएको बताएका थिए ।
प्रधानमन्त्रीको अभिब्यक्तीलाई लिएर नेकपाभित्रैबाट आलोचना भएको थियो । ओलीको भनाईमा चौतर्फी आलोचना भएपछि अर्को दिन परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा ठेस पुर्याउने आशयमा व्यक्त नभएको स्पष्ट पारेको थियो । भारतले मिचेको नेपाली भूमि फिर्ता गर्ने अहिलेको मूल एजेन्डालाई विषयान्तर गराएको र दुई देशको कूटनीतिक सम्बन्धमा असर पर्ने भन्दै नेकपाकै नेताहरूले विरोध गरे । तर, कोरोनाले अस्पतालमा बेड, क्वारेन्टाइनमा जीवनजल र एम्बुलेन्स नपाएर नागरिकले ज्यान गुमाइरहँदा दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट प्रधानमन्त्री भने राममन्दिर बनाउनुपर्ने भन्दै हतार–हतारमा जनप्रतिनिधिलाई राजधानी बोलाइनुले सबै आश्चार्यमा परेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अयोध्यापुरी, #प्रधानमन्त्री नरेन्द्र मोदी, #भानुजयन्ती, #माडी नगरपालिका
तपाईको कमेन्ट लेख्नुहोस्