सिन्धुपाल्चोकको बाह्रविसे पुग्दा जे देखियो.. (फोटो डायरी)
सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसेस्थित जम्बुमा बुधबार मध्यराति गएको पहिरो र भोटेकोशी नदीमा आएको बाढीमा परेर २ जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य २० जना अझै बेपत्ता छन् । पहिरोले १४ घरहरु पुरिएका छन् भने १ सय २ मेगावाट उत्पादन क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना क्षेत्र बाढीका कारण डुबानमा परेको छ ।

बाढी र पहिरोले वितण्डा मच्चाएको क्षेत्रका सांसदहरु बिहानैदेखि उद्धारमा सक्रिय बनिरहेका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का नेकपाका सांसद तथा सभामुख अग्निप्रासद सापकोटा हेलिकोप्टर लिएर घटनास्थल पुगे भने उनीसँगै नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुवोध पनि बाह्रबिसे पुगेका थिए । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र अर्का मन्त्री अरुण नेपालपनि बाढीपहिरो प्रभावित क्षेमा पुगे ।

सोही क्षेत्रका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनकुमार बस्नेत बिहानैदेखी बाढी पहिरो प्रभावित क्षेत्रमा खटिए । उनकै पहलमा घाइतेको उद्धार गरेर थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

नेकपा र नेपाली कांग्रेस दुई पार्टीका तीन हेलिकोप्टर उद्धारमा खटिएका थिए । सिन्धुपाल्चोकले केही वर्षदेखि एकपछि अर्को प्राकृतिक विपत्ति भोग्दै आएको छ । जुरे पहिरो र गत वर्ष आएको बाढीले पनि निकै क्षति पुर्याएको छ ।

बाढीपहिरोका कारण अरनिको राजमार्ग अबरुद्ध भएको छ । अझै पानी परिरहेकाले जोखिम बढ्दा स्थानीय त्रसित छन् । सिन्धुपाल्चोक जम्बु पहिरोले पुर्याएको जनधनको क्षतीप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले समेत दुःख प्रकट गरेकी छन् । बाढीपहिराले घाइते पाँचसहित सातदिने शिशुलाई हेलिकोप्टरद्वारा उपचारका लागि बिहीबार राजधानी पठाइएको छ । घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र १९ वर्षीय सुरेश बस्नेत तथा बुलकोटेका फुर्वा तामाङ, पेमुलम तामाङ र उनकी छोरी सातदिने शिशुको उपचारका लागि ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ । घाइतेलाई एयर डाइनेष्टी र माउण्टेन एयरको हेलिकोप्टरद्वारा राजधानी पठाइएका हो ।

यसैबीच बेपत्ता २० जनाको पहिचान खुलेको छ । तिनमा जम्बुका भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङडोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाया वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, लोकबहादुर तामाङ, सलिनी तामाङ, सवेश तामाङ, युक्तबहादुर तामाङ, भोटेकोशी हाइड्रोपावरका सेक्रेटरी हिमेश शर्मा र जाइकाका इञ्जिनीयर आकाश केसी छन । त्यसैगरी बुलकोटेका नीमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङनुर्बु तामाङ र सहिल तामाङ पनि बेपत्ता भएका छन्। बाढीले बस, ट्याङ्कर, ट्रक र कारसमेत बगाएको छ । दुवै ठाउँमा गरी ३६ घर टहरा बगेका छन । भोटेकोशीले बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय नजीक अरनिको राजमार्ग र जुरेमा करीब ३ सय मिटर सडक बगाएकाले आवागमनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- २प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- ३जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ४एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ५सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन



तपाईको कमेन्ट लेख्नुहोस्