Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

काठमाडौंका सडक हेर्दा लकडाउन खुलेजस्तो


काठमाडौं २८ बैशाख । आइतबार काठमाडौं उपत्यकाका सडक हेर्दा लकडाउन खुलेजस्तै देखिन्छ । बिभिन्न चोक तथा भिडभाड हुने सवारी आवागमन हुने स्थानमा जाम देखिन्छ । चोक तथा मुख्य चोकमा सरक्षाकर्मीले डिभाइडर राखेर एकतर्फीबाट मात्रै आवात–जावत बनाएका कारण जाम लागेको देखिन्छ । काठमाडौं उपत्यकामा लकडाउन खुलेजस्तो देखिएका कारण केही सर्वसाधारण समेत सवारी साधन लिएर सडक निष्किएका देखिन्छन् । उनीहरुलाई सुरक्षाकर्मीले सडकमै रोकेका कारण सवारी साधनको चाप बाक्लो देखिन्छ । ठाउँ–ठाउँमा सवारी साधन रोकिएका छन् । कतिपय सवारी साधनलाई घर फिर्ता पठाइएको छ । आइतबारदेखि काठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन भएका कारण जाम भएको हो । समय तालिकाको पालना नगर्ने ब्यक्तीहरुलाई समेत कारवाहीमा परेका छन् । निर्माण सामग्री बोकेका ठूला ट्रकहरु, अस्पताल, वित्तीय संस्था, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई समय तालिकाअनुसार सवारी चलाउन दिइएको हो ।
सवारी साधन चलाउन दिइएको समय तालिका
–निर्माण सामग्री बोकेका ठुला टिपर र ट्रकरु बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउनेछन् ।
–निजामती कर्मचारी, बैंक तथा वित्तीय सेवाका कर्मचारी बिहान ९ बजेदेखि साढे ९ बजेभित्र कार्यालय पुगिसक्ने, बैंकका कर्मचारीहरु साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने, अन्य कर्मचारीको हकमा ५ देखि ६ बजेसम्म फर्किसक्नु पर्नेछ ।
–सामान्यतया अत्यावश्यक सामग्री बोकेका गाडीहरु जस्तै, तरकारी, खाद्य सामग्री, फलफूललगायत बोकेका सवारीसाधन बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने छन् ।
–४४ प्रकारका उत्पादन तथा सेवा सञ्चालनसँग सरोकार राख्नेका सबै सवारी साधन सञ्चालन गर्न भने नपाउने ।
–माथि उल्लेखित सवारी साधन सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने व्यवस्था गरिएको छ ।
रातमा चल्ने निर्माण सामग्री बोकेका सवारीसाधनका लागि भने परिचयपत्र र पत्र बोक्न आवश्यक नपर्ने नियम बनाइएको छ । अत्यावश्यक कामबाहेक पास नबोकेर सडकमा गुड्ने सवारी साधनलाई कारवाही गरिने छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा जोखिम कम गर्न सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको थियो । आइतबार लकडाउनको ४८ दिन पुगेको छ । सरकारले भने लकडाउनको अवधि लम्बाउँदै जेठ ५ गतेसम्म पुर्‍याएको छ । नेपालमा १ सय १० जनामा कोरोना संक्रमण देखिएको छ भने २८ जना निको भएर घर फर्किएका छन् । वैशाख ५ गते भुल्केमा पहिलोपटक १२ जनामा कोरोना संक्रमण देखिएकोमा बढेर ३२ पुगेको छ भने १४ जना निको भएर घर पनि फर्किएका छन् । जेठ ५ गतेसम्म लकडाउन लम्ब्याएको सरकारले क्रमशः केही पेशा र व्यवसाय गर्न छूट दिन थालेको छ । सुरक्षा सावधानी अपनाएर गर्न पाइने त्यस्ता पेशा व्यवसायमा सामाजिक दूरीको पालना पनि गर्न भनिएको छ । बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ दिन हुँदा पनि सरकारले पर्याप्त परीक्षण सामग्रीसमेत ल्याउन नसक्दा परीक्षण किट नहुँदा ठूलो आकारमा परीक्षण गर्न सकिएको छैन । बरु सरकार खरिदमा भएको अनियमितताकाण्डमा फसेको छ । पछिल्लो समय सरकारले जीटूजी प्रक्रियामार्फत् किन्न लागेको स्वास्थ्य सामग्री खरिदको जिम्मा पनि नेपाली सेनालाई सुम्पिएको छ । तर, सेनाले पनि सामग्री ल्याउन सकेको छैन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #लकडाउन खुलेजस्तो

तपाईको कमेन्ट लेख्नुहोस्