अर्थप्रमुख समाचारब्रेकिंग न्युजसमाचार

भूकम्प र कोरोना महामारीपछि सुस्ताएको तातोपानी नाकामा हाम्रो स्थलगत खबर अनुगमन

0

काठमाडौं । २०७२ बैशाख १२ गते गएको भुकम्पपछि नेपालको उत्तरी नाका तातोपानी अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन् । पटक–पटक बन्द हुँदै खुल्दै गर्नेे यो नाकामा यतिबेला पनि सामान आयात गर्न कठिन परिरहेको छ । भुकम्पका कारण भौतिक संरचना ध्वस्त भएको भन्दै चिनिया पक्षले नाका खुलाउन आनाकानी गर्यो । हुनत् नेपालको सीमा नाकामा भूकम्पले भन्सार कार्यालयदेखि सडक नै भत्काइदियो । जसका कारण आवत–जावतमा समस्या आयो । चीन नाका सुचारु गर्न केही सकरात्मक देखिएर केही कन्टेनरबाट सामान नेपाल भित्रिदै थियो । तर, पुन नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेपछि चीनले नाका पूर्ण रुपमा बन्द गर्यो ।

चीनिया सुरक्षाकर्मीले पुल मै काँडेतार लगाएर नेपालका सुरक्षाकर्मीलाई समेत नजिक पर्न दिएनन् । कोरोनापछि झण्डै ८ महिना ठप्प रहेको उत्तरी नाकामा अहिले पनि चीनिया सुरक्षाकर्मीले पुलको गेटसम्म पनि जान दिदैनन् । अहिले मितेरी पुल वारीसम्म चिनियाँ कन्टेनरले सामान ल्याइदिने गरेका छन् । कोरोना संक्रमण रोकथामका लागि नाकामा उच्च सावधानी अपनाउँदै चिनियाँ ब्यापारीले अलपत्र परेको नेपाली ब्यवसायीका सामान नेपाल पठाउन त सुरु गरे । तर, पनि नाकामा अझै सहज छैन् । अहिले नेपाल तर्फको पुरानो भन्सार कार्यालयमा चिनियाँ कन्टेनरले नै सामान पु¥याउन आउने गरेको छ । स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागु भएपछि सामान आयात सुरु गरिएपनि दैनिक ४/५ वटा मात्रै कन्टेनरमा सामान आउने गरेको छ ।

श्रमिकहरुलाई स्वास्थ्य मापदण्डसहित आइसोलेटेड क्षेत्रमा सामान लोड अनलोड गर्ने व्यवस्था मिलाइएको छ । नेपालतर्फका सवारी साधनहरु सामान लिन जानको लागि अनिवार्य निर्मलिकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । लामो समय नाका सञ्चालन नहुँदा स्याउ लगायतका खाद्य सामग्री आयात गर्ने व्यापारी मर्कामा परे । आफूहरुले आयात गरेको स्याउ तीन लटसम्म कुहिएको व्यापारीहरुले बताएका छन् । अब भने नाका निरन्तर खुल्नुपर्ने उनीहरुको माग भएपनि बिगत जस्तो सामान आयात भएको छैन् । निर्यात त झनै ठप्प छ । नेपालमा उत्पादित बस्नुतहरु चिनमा माग भएपनि कोरोनाकै कारण नाका ठप्प बनाइएको छ । कोभिडपछि बन्द उत्तरी नाका सहज रुपमा सञ्चालनमा आउन नसक्दा त्यसको प्रभाव नेपाल र चीनबीचको व्यापारमा परेको छ ।

अर्कोतर्फ भूकम्पअघिसम्म नेपाल र चीनबीचको उत्तरी तातोपानी नाका गुल्जार थियो । राजधानी काठमाडौंदेखि १ सय २० किलोमिटर दूरीमा रहेको यो नाकामा व्यापार निकै चम्किलो थियो । चीनपट्टीको खासा बजारबाट सामान ल्याएर काठमाडौं हुँदै देशका विभिन्न क्षेत्रमा सामानहरु बिक्री गर्नका लागि तातोपानी नाकामा व्यापारीहरुको निकै चहलपहल हुन्थ्यो । सधैजसो गुल्जार हुने तातोपानी नाका भूकम्पपछि भने खण्डर बनेको छ । तातोपानी नाकामा दशकौंदेखि चम्किलो व्यवसाय गरिरहेका व्यवसायीहरु बिस्तापित भएका छन् । भूकम्पले नेपाल र चीन जोड्ने मितेरी पुल भत्किएपछि दुबै नाकाबाट हुने व्यापारको संरचना पनि भत्कियो । त्यसअघिसम्म चीनपट्टी पर्ने खासा बजार नेपाली व्यापारीका लागि चीनका नाकामध्ये प्रमुख नै थियो । नेपालीहरुले नागरिकताका आधारमा एक दिने भिसा लिएर व्यापारका लागि खासा बजारमा व्यापार गर्न जान्थे ।

भूकम्प र त्यसपछिको कोरोनाका कारण खासा बजार र नेपालीको आवात जावत पनि ठप्प बन्यो । अझ भूकम्पपछि चीन सरकारले त खासा बजारलाई सर्लक्कै उठाएर अन्यत्रै सारिदियो । त्यसपछि तातोपानी नाकाबाट हुने व्यापार ठप्प भयो । अहिले दुबै देश जोड्नका लागि नयाँ मितेरी पुल बनेको छ । तर, चहलपहल भने शुन्य जस्तै छ । उत्तरी नाका हुँदै नेपाल सामान ल्याउने सीमित कन्टेनर बाहेक मितेरीपुलमा आवात–जावत छैन । मितेरी पुल भत्किएर नाका बन्द भएको केही समयपछि चीन सरकारको सहयोगमा नाकादेखि ६ किलोमिटर तल ड्राइपोर्ट बनाइदिएको छ । जहाँ तातोपानी भन्सार कार्यालय सञ्चालनमा छ । मितेरी पुल हुँदै नेपाल प्रवेश गर्ने कन्टेनरहरु सिधै यही आउँछन् । र, भन्सारको काम गरिन्छ ।

भन्सार कार्यालयसम्म ४० फुटे कन्टेनर आउँछन् । तर,त्यहाँबाट सामान ल्याउनका लागि बाटोको अवस्थाका कारण लामा कन्टेनरहरु आउन सक्ने अवस्था छैन । गत आवमा भन्सार कार्यालयले १ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालु आवमा फागुन महिनासम्म ४१ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । यो नाकाबाट चालु आर्थिक वर्षमा ५ अर्ब रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । तातोपानी भन्सारसम्म आएको सामान काठमाडौं पुर्याउन पनि निक्कै कठिन छ । ठाउँ–ठाउँमा गएको पहिरोका कारण सामान गन्तब्यमा पुर्याउनै मुस्कील छ । यतिबेला फाट्टफुट्ट अन्य सामान भित्रिएपनि फागुन २३ गते पहिलो पटक उत्तरी नाकाबाट युरिया मल आयात भएपछि आगामी दिनमा यहाँबाट हुने आयात तथा निर्यात बढ्ने बिश्वास गरिएको छ ।

माधव–झलनाथको छुट्टै भेला, ओलीप्रति तिखो प्रहार गर्दै आयो राजनीतिक प्रतिबेदन

Previous article

नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता

Next article

You may also like

More in अर्थ