दोब्बरदेखि तेब्बरसम्म बढ्यो तरकारीको मुल्य
काठमाडौं । करिव एक महिनाअघिको तुलनामा यतिबेला काठमाडौं उपत्यकाका थोक बजारमा नै तरकारीको मूल्य दोब्बरले बढेको छ । केही तरकारीमा त दोब्बरभन्दा पनि बढेको छ । असार १ गते किलोको २५ देखि ३० रुपैयाँ रहेको गोलभेँडा अहिले ५५ देखि ६३ रुपैयाँ पुगेको छ । किलोको ३२ देखि ३४ रुपैयाँ रहेको रातो आलु अहिले ६८ देखि ७० रुपैयाँ पुगेको छ । तने बोडी किलोको २० रुपैयाँबाट एक सय रुपैयाँ पुगेको छ भने सिमी ३० देखि ३५ रुपैयाँबाट किलोको ९५ देखि एक सय रुपैयाँ पुगेको छ । यो भाउ खुद्रामा पुग्दा अझै महँगो हुन्छ । खुद्रा व्यापारीले ढुवानी, सटर भाडा, ज्यालालगायतलाई जोडेर थोक मूल्यमा किनेको भन्दा दोब्बर मूल्यमा तरकारी बेच्ने गरेका छन् । उपभोक्ताले तने बोडी किलोमा दुई सय रुपैयाँसम्म तिरेको बताएका छन् ।
असार महिनामा सामान्य बढेको तरकारीको मूल्य साउन लागेपछि भने आकासिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनमा १० र १५ रुपैयाँ किलोमा पनि बिक्री नभएको तरकारी अहिले किलोको एक सय रुपैयाँ र योभन्दा माथिसम्म पुगेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । खुद्रा बजारमा अहिले एक सय रुपैयाँभन्दा कममा तरकारी नै पाइँदैन । थोक बजारमा नै तरकारी महँगो छ । लकडाउनका बेला धेरैले उपत्यका छोडेका, होटल, खाजा घर, रेस्टुरेन्ट बन्द रहेका लगायतका कारणले उपत्यकामा तरकारीको खासै माग थिएन ।
कोरोनाको जोखिमको सुरुका दिनमा धेरै घरबाहिर ननिसक्दा पनि तरकारीको माग घटेको थियो । जब लकडाउन खुकुलो हुँदै गयो, गाउँ घरबाट उपत्यका आउनेहरु पनि बढे । होटल, रेस्टुरेन्ट पनि खुल्न थाले, कार्यालयहरु खुले । मानिसहरु घरबाट बाहिर निस्कन थाले । यसले तरकारीको माग बढायो । तर, बाढी पहिरो र लगातारको झरीले तरकारी बालीमा नोक्सानी पुग्दा मागअनुसार आयात भएन । काठमाडौं उपत्यकासँग जोडिएका जिल्लाबाट अहिले सजिलै तरकारीको आयात भइरहेको छ ।
तरकारीको अभाव भएकाले किसानले पनि राम्रै भाउ पाइरहेका छन् । तरकारीको भाउ राम्रो पाउँदा लकडाउनमा घाटा र नोक्सानी ब्यहोर्ने किसानलाई केही राहत मिलेको छ । यतिबेला सिमी ७५ देखि एक सय रुपैयाँ छ । साग पनि एक किलोको एक सय रुपैयाँ, कर्कलो मुठाको १० देखि १५ रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ र भिण्डी किलोको २५ देखि ३५ रुपैयाँमा खेतबारीबाट किसानले बिक्री गरिरहेका छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बढ्यो तरकारीको मुल्य
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्