प्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

किन चलाउँदैनन् हेटौडा कपडा उद्योग ?

0
जनताको इजलास टिम
काठमाडौं २६ कार्तिक । राणा शासन फेर्यौँ, प्रजातन्त्र ल्यायौँ । बीचमा पञ्चहरुले प्रजातन्त्र हरेभन्दै आन्दोलन गरे । यो व्यवस्था पनि ढल्यो जनताको तागतले । लामो समय अभिभावकत्व दिएको राजतन्त्र समेत फ्यालेर गणतन्त्र नेपाल घोषणा पनि जनताले नै गरे । तर ब्यवस्था फेरिए अनुसार प्रबृत्ति फेरिएन्, शासन फेरिए जसरी सोच फेरिएन । बरु पार्टी, नेता र कार्यकर्ताको स्वार्थ हाबी हुँदा औद्योगिक विकास त परको कुरा भएका उद्योग समेत धारासायी बनिरहेका छन् । सुनौलो ईतिहास रचेर अस्तित्व मेटिन लागेको हेटौँडा कपडा उद्योग परिसरभित्रै हामी पुगेर वास्तविकता खोतल्ने प्रयास गरेका छौँ । देशमा रोजगार छैन् भन्दै दैनिक १५ सयको हाराहारीमा युवा अर्थात् दक्ष जनशक्ती विदेशिरहेको छन् । अझ, भारतको रोजगारीमा जानेहरुको संख्या त कही कतै रेकर्डमै छैन । जहाँ लाखौँ नेपाली छन् । यता, सरकार स्वदेशमै रोजगारको ब्यवस्था गर्छु भनिरहेको छ । तर, उद्योग तथा कलकारखाना राजनीतिक चेपुवामा बन्द भइरहेका छन् । त्यस्तै, राजनीतिक खिचातानीका कारण बन्द भएको एउटा उद्योग हो हेटौडा कपडा उद्योग । बन्द भएको दुई दशक पुग्दा हामी कपडा उद्योगको बास्तविकता बुझ्न हेटौडा पुग्यौं ।
औद्योगिक क्षेत्रको बीच भागमा छ, हेटौंडा कपडा उद्योग । उद्योगको मूलगेटमा रहेको भवनमा बसेको छ सशस्त्र प्रहरी बल, नेपाल । यहि मुलगेट हुँदै हामी हेटौंडा औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयको सहयोगमा बन्द रहेका लेउ लागेका भवनको कोठाका ताला खोल्दै भित्र प्रबेश गयौं । ठूला साना रुख, झारैझारका बीचमा साना ठूला भवन छन् । वरपर रुख र झाडी छ ।
चीन सरकारको सहयोगमा निर्माण भएर चौतर्फी चर्चा कमाएको उद्योग २०५६ फागुनदेखि पूर्ण रुपमा बन्द छ । यो उद्योग देख्दा लाग्छ दाताको लगानी बालुवामा पानी भइरहेको छ । एक महिनाअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भयो नेताहरुले लगानीका लागि हात फैलाए । तर, बिगतमा गरेको लगानी यसरी खेर गइरहेको छ । कपडा उद्योगमा मेसिन भएको ठूला भवन ४ वटा र अरु कार्यालय, भण्डारण गरी १० वटा छन् । ती भवनभित्र जाँदा सबै भवन अध्यारो र सबैजसो सामान खिया लागेका छन् । २० बर्षअघिसम्म औद्योगिक क्षेत्रको सबैभन्दा बढी चहल पहल हुने कपडा उद्योग अहिले खण्डहर बनेको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा उद्योग निर्माण सुरु भएको थियो । २०४८ को आर्थिक उदारीकरणपछि उद्योगलाई निजीकरण गर्ने भनिए पनि प्राथमिकतामा पर्न सकेन । अहिले बन्द रहेको कपडा उद्योग एक सय ८८ रोपनीमा फैलिएको छ । तीन लाख ५५ हजार स्क्वायर फिटका भवन छन् । उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता भएको उद्योगले सञ्चालनको समयमा १५ सय बढीलाई रोजगारी दिन्थ्यो । स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै सुती कपडामा आत्मनिर्भर बनाएको यो उद्योगको कपडा विश्वका विभिन्न देशसम्म पुग्थ्यो । यहाँको उत्पादनले छोटो समयमै देशमा मात्रै होइन्, विदेशमा समेत चर्चा पायो । तर यो चर्चा र सफलता लामो समय टिक्न सकेन । दुई छिमेकी देश चीन र भारतबाट सस्तो दरमा कपडा भित्रिदा अनि राजनीतिक आडमा चलेको मजदुर आन्दोलनले २०५६ फागुनदेखि उद्योगलाई पूर्ण रुपमा बन्द गरायो । मन्त्रिपरिषद्को २०६९ माघ १२ को निर्णयानुसार हेटौंडा कपडा उद्योगको जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गरियो । तर यती ठूलो क्षेत्रफलमा फैलिएको उद्योग र उपकरणलाई सदुपयोग गर्नेतर्फ सरकार गम्भिर बन्नै सकेन । देशकै गौरवका रुपमा रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको लागि नेता र मन्त्रीहरुले भाषण मात्रै होइन, रकम पनि खन्याएका छन् । तर त्यो पैसा कहाँ पुग्यो भनेर अहिले भेटिने ठाउँ छैन । बाबुराम भटराई अर्थमन्त्री हुँदाको समयमा पाँच करोड रुपैयाँ खर्च गरेर कपडा उद्योग सञ्चालन गर्ने भनियो । मेसिनहरु मर्मत गरेर चलाउने हालतमा पनि ल्याइयो । तर सञ्चालन भने हुनै सकेन । कपडा उद्योगलाई केन्द्रीत गरेर तत्कालीन नेकपा माओवादीले आफ्नो केन्द्रीय महाधिवेशन कपडा उद्योगकै प्राङगणमा गरेको थियो । तर महाधिवेशन सकिएपछि नेतृत्वले बिर्सियो । त्यतिमात्रै होइन प्रदेश तीनको संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडाको कपडा कारखाना सञ्चालन गर्ने पनि बताए । सरकार फेरिएसँगै मन्त्री फेरबदल भएसँगै उद्योग सञ्चालन गर्ने भाषण निरन्तर चल्दै आएको छ । काम भने सिन्को पनि भाँचिदैन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको कार्यदलले उद्योग सञ्चालन गर्न सकिने प्रतिबेदन पनि बुझाएको थियो । पटक–पटक उद्योग सञ्चालन गर्ने चर्चा चलेपनि उद्योगका करोडौका उपकरण खिया लागेर माटोमा मिल्न लागेको अनि भवन भत्किएर खण्डहर बनेको राज्यका कुनैपनि निकायले देखेनन । स्वदेशमा गुणस्तरिय उत्पादन गरेर विश्वका विभिन्न स्थानमा कपडा निर्यात गर्ने उद्योग र यहाँको अर्बैका उपकरण माटोमा मिल्दैगर्दा संरक्षण अनि सदुपयोमा स्थानीय सरकार, मन्त्री, मुख्यमन्त्री प्रधानमन्त्री सबै सबै किन बेखबर ?

भारतीय नक्सामा आ–आफ्नै तर्क

Previous article

बंगादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आउँदै

Next article

You may also like